
काबुल, १० असार – अफगानिस्तानमा सुरक्षाबलले सोमबार बिहानबाट जारी राखेको कारबाहीको क्रममा २२ तालिवान आतङ्ककारीको मृत्यु भएको छ ।
अफगान गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४ घण्टाभित्र अफगान सैनिक, प्रहरी र गुप्तचर निकायको सहभागीतामा सो कारबाही जारी रहेको बताइएको छ ।
अफगानिस्तानको नान्गार्हार लाघमान, सारी पुल, कान्दाहार, जाबुल उरुज्गान, लोगार, हेरात, हेलमान्ड प्रान्तमा भएको कारबाहीको क्रममा २२ आतङ्ककारीको मृत्यु हुनुको साथै १२ घाइते र पाँच पक्राउ परेको गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
यस कारबाहीको क्रममा सुरक्षाबलले हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ ।
सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरुले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।
त्यसैकारण पछिल्ला दिनहरुमा अफगानिस्तानमा तालिवान विरुद्धको कारबाहीमा पनि अफगान सुरक्षा बलकै सहभागीता रहदै आएको छ । सिन्ह्वा