पूर्वलडाकुहरु तरकारी खेतीमा आकर्षित

काठमाण्डु टुडे २०७१ असार १० गते ११:२२ मा प्रकाशित

गोरखा, १० असार – बेनीको आक्रमणमा होस् या कृष्णभिरको आक्रमणमा होस् यी टोली युद्धको क्रममा देशका हरेक भागमा पुगेका थिए ।

त्यतिबेला युद्धबाट सत्ताको सपना देखेका पूर्व लडाकुहरू यतिबेला के गर्दै होलान् भने चासो हुनु स्वाभाविक छ । ३५ हजार लडाकुमध्ये १९ हजार त समायोजनका लागि प्रमाणित नै भएका थिए । अन्तिम अवस्थामा समायोजन हुनेहरूको सङ्ख्या तीन हजारमात्रै रहन पुग्यो । सबै गाउँ फर्के । कतिपय लडाकुहरू पार्टीभित्रै रहेर काम गरिरहेका छन् त कतिपय वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका छन् ।

केही लडाकुहरू गाउँघर र नजिकका बजारमा सानोतिनो व्यवसाय गरेर बसेका छन् । युद्धका क्रममा गोरखाबाट पनि थुप्रैले ज्यान गुमाए र कतिपयको अङ्गभङ्ग भयो । यहीँका नेताहरू ठूल्ठूला पदमा समेत पुगे । तिनै लडाकुहरू जसले पार्टी र क्रान्तिका लागि भन्दै वर्षौं युद्ध लडे आज उनीहरू कतिपय गुमनाम छन् ।

तिनैमध्येका एक हुन् हितमान सुर्खेती (नवीन) । युद्धको मोर्चामा सयौँ पटक लडेका उनी यतिबेला तरकारी तथा फलफूल खेतीमा व्यस्त हुन थालेका छन् । बिग्रेडियर कमाण्डर रहेका सुर्खेतीको कमाण्ड यतिबेला गोरखाको घ्याल्चोक गाविस वडा नं ५ स्थित धावादीघाट फाँटमा तरकारी उत्पादनदेखि पशुपालनका कामहरूमा संलग्न छ ।

सात जनाको लगानीमा सुरु भएको उत्पादनले पहिलो महिनामै रु दुई लाखभन्दा बढी आम्दानी भएपछि उनीहरूको सिको गर्दै एमाओवादीभित्र कृषि उत्पादनमा लाग्नेहरूको सङ्ख्या बढ्न थालेको छ ।

यहाँ एक हजार ५०० वटा कुखुरा पनि पालिएको छ । बङ्गुरपालनका लागि खोर निर्माणका काम भइरहेको छ । केराका बोट लहलह बढिरहेको छ ।

हिजो युद्धको मोर्चामा काम गर्दा र अहिले कृषि कर्म गर्दा अलग अनुभव भएको पूर्व लडाकुसमेत रहेका दीपक तिमिल्सिना बताउछन् ।

गाउँका स्थानीय व्यक्तिको १० रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको खेती र पशुपालनले अहिले जिल्लामा मात्रै नभइ देशभरि चर्चा पाउन थालेको छ ।

यहाँका पूर्व लडाकुहरूले गरेको कामबारे थाहा पाएपछि विभिन्न स्थानमा रहेका पूर्व लडाकुहरू यहाँ अवलोकनका लागि आउने गरेका छन् ।

सहिद स्मृति ताजा फलफूल तथा तरकारी उत्पादन सहकारी संस्था दर्ता गरेर उनीहरूले कृषि कर्म गर्न थालेका हुन् ।

यतिबेला पूर्व लडाकुहरूलाई करेला, रामतोरिया, घिरौँला, चिचिन्डो टिपेर बजार पु¥याउन भ्याइनभ्याई छ । आफूहरूले विश्राम लिँदा उत्पादनमा कमी आउने अर्का पूर्व लडाकु सचिन खनालले जानकारी दिए ।

घ्याल्चोक गाविसबाट बर्सेनि रु १० करोडको तरकारी उत्पादन भएर बजार जाने गर्दछ । त्यहीँ उनीहरूको उत्पादन सुरु भएकाले बजारको कुनै कमी छैन । तरकारी र कुखुरापालनबाट छिटो आम्दानी गर्न सकिने हुनाले आफूहरूको ध्यान यसतर्फ गएको पूर्व लडाकुहरू बताउँछन् ।

घ्याल्चोकमा पूर्व लडाकुहरूले गरेको देखासिकी गर्दै जिल्लाका आरुघाट, गोरखा बजार क्षेत्र, चोरकाटे, देउरालीलगायतका क्षेत्रमा समेत युवाले सामूहिक कृषि खेती गर्दैआएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us