विपन्नको उपचारका लागि ३० करोड, एउटै नेतालाई सवा करोड

काठमाण्डु टुडे २०७१ असार १० गते १:३७ मा प्रकाशित

काठमाण्डु, १० असार –विपन्न नागरिकको औषधोपचार सरकारले चालु आर्थिक वर्षमा झन्डै ३० करोड रुपैयाँ खर्च गरेको छ ।

कडा रोगका रुपमा सूचीकृत रोगबाट ग्रसित आठ हजार तीन सय ५२ जनाले जम्मा ३० करोड पाएका छन् जब कि एमाले नेता केपी ओली एक्लैले एक करोड २६ लाख र कांग्रेस नेता गोविन्दराज जोशीले २६ लाख पाएका छन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार मृर्गोला,क्यान्सर र मुटु अल्जाइमर्स/पार्किन्सन र हेड तथा स्पाइनल इन्जुरी रोगलाइ कडा रोगका रुपमा सुचीकृत गरिएको छ । यी रोगका विरामीलाई विपन्न नागरिक औषधि उपचार कोषबाट सहयोग निकासा हुने गरेको छ ।

कोषबाट चालु वर्षमा २९ करोड ६८ लाख ८८ हजार चार सय ४५ रुपैयाँ विरामीलाई निकासा भएको महाशाखाले जनाएको छ । सहयोगका लागि प्राप्त निवेदनअनुसार अझै १६ लाख रुपैयाँ अपुग हुने महाशाखाका प्रमुख डा भिम आचार्यले जानकारी दिए । वितररित सहयोग रकममध्ये झन्डै ८५ प्रतिशत मृर्गौला रोगीको उपचारमा खर्च भएको महाशाखाले जनाएको छ ।

‘चालु आर्थिक वर्षको अहिलेसम्म देशभर सूचीकृत २७ वटा अस्पतालबाट ६ हाजर ३६ जनाले डायलासिस सेवा लिए’,महाशाखाका जनस्वास्थ्य अधिकृत दयाराम न्यौपानेले भने,‘प्रत्यारोपण हुने दुईवटा अस्पतालबाट ५३ जनाले प्रत्यारोपण सेवा र नयाँ तथा पुराना गरी ६ सय २० जनाले प्रत्यारोपणपछिको औषधि खरिदका लागि नगद रुपैयाँ बुझेका छन् ।’

मृर्गौलाको रोगीले सबैभन्दा बढी राहत पाउने गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us