वाणिज्य बैकका सिए अपहरणको १९ दिनपछि सकुशल उद्धार

काठमाण्डु टुडे २०७१ असार ८ गते ११:२९ मा प्रकाशित

काठमाण्डु, ८ असार –राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगरका चार्टड एकाउन्टेन्ट कृष्ण साहलाई प्रहरीेले शनिबार राति सकुशल उद्धार गरेको छ । साह १९ दिनअघि अपहरित भएका थिए ।

खोज तथा उद्धार टोलीको लामो अनुसन्धान पछि भारतीय सुरक्षाकर्मीको सहयोगमा बैकका अधिकृत समेत रहेका साहलाई गएराती उद्धार गरेको हो । उद्धार टोलीको नेतृत्व जिल्ला प्रहरी कार्यलयका डिएसपी प्रभुप्रसाद ढकालले गरेका थिए ।

उनलाई भारतसित सिमा जोडिएको सुनसरीको साहेवगञ्जवाट उद्धार गरिएको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । साहको अपहरणमा संलग्न रहेका दुई भारतीयसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सुनसरी तनमुना गाबिस ८ का हरेश चौधरी र सोनापुर गाबिस ९ का अनिल चौधरी छन् ।

यस्तै विहारको अररिया जिल्ला फारविसगन्ज बस्ने प्रदीप विश्वास र अररियाकै नरपथगन्ज थाना क्षेत्र घर भएका मनोज यादवलाई पनि पक्राउ गरिएको छ । मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।

घटनामा संलग्न २ भारतीय र ४ नेपाली गरी ६ जना फरार छन् । पक्राउ परेकाहरुले केही दिन अघि सुनसरीको दुहबी स्थित मनी एक्सचेन्जवाट रकम लुटपाट गर्ने कार्यमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

गत जेठ २१ गते साहलाई टंकी सिनुवारी गाविस १ स्थित आरती स्टील फयाक्ट्री अगाडिबाट अपहरणकारीहरुले हतियार देखाउँदै सुनसरीको विभिन्न गाविस हँुदै भारत पुरयाएका थिए । अपहरणकारीहरुले साहको परिवारसित ३ करोड फिरौती माग्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us