बनवसा पुल खुलाउने सहमति कागमजै सीमित

काठमाण्डु टुडे २०७१ असार ८ गते ९:४७ मा प्रकाशित

कञ्चनपुर, ८ असार – महाकाली नदीको बनवसा पुल खुलाउने नेपाल–भारतबीचको एक वर्षअघिको सहमति कागजमै सीमित रहन पुगेको छ ।

दुई मुलुकको सचिवस्तरीय निर्णयबाट गत भदौमा दैनिक चार घण्टा खुल्दै आएको पुल सात घण्टा खोल्ने सहमति भएको थियो ।

पुलमा २४ घण्टा आवागमन सुचारु गराउन लामो समयदेखि दल, सरकारी निकाय र भारतीय राजदूतावासलाई गुहार्दै आएपनि सुनुवाइ नभएपछि व्यवसायीहरु निरास बनेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीले नेपाल–भारतबीच भएको सहमति तत्काल कार्यान्वयन गरिनुपर्ने बताउनुभयो । पुल खुल्ने निश्चित समय भएका कारण यहाँका व्यवसायीले व्यापारमा घाटा व्यहोर्नुपर्ने अवस्था रहेको उनले बताए ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक नाकामा पुल दैनिक बिहान र साँझ गरी चार घण्टामात्रै खुल्दा आयात निर्यात अत्यन्तै निराशाजनक अवस्थामा पुगेको छ । अहिले आयात निर्यात दुई प्रतिशतभन्दा कम छ । पुल नखुल्ने झन्झटले विगतमा गड्डाचौकी नाकाबाट भारत निर्यात हुने जडीबुटीसमेत नेपालगन्ज नाकाबाट निर्यात हुने गरेको छ । भारतीय सीमावर्ती सहरका उत्पादनसमेत पूर्वका नाकाबाट आयात गरी व्यापार गर्नुपर्ने बाध्यता व्यवसायीले झेल्दै आएका छन् ।

व्यापार व्यवसाय सहजीकरणका लागि स्थापनाकालदेखि सरकारसमक्ष माग राख्दै आए पनि सुनुवाइ हुन नसकेको सङ्घका पूर्व अध्यक्ष यज्ञराज भट्टले बताए ।

भारतमा अङ्ग्रेजको शासन हुँदा सन् १९२८ मा बनेको उक्त पुल जीर्ण भएको जनाउँदै भारतले चार घण्टामात्रै खोल्दै आएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us