एमालेको ‘रातो सूर्य ’ ओलीको कब्जामा

काठमाण्डु टुडे २०७१ असार ८ गते २:४६ मा प्रकाशित

काठमाण्डु, ८ असार – नेकपा एमालेको नवौं महाधिवेशन मिति नजिकिंदै गर्दा एमालेभित्र कित्ताकाट चलिरहेको छ ।
rato suryaअध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच दोहोरी चलिरहेको छ । शीर्ष नेताबीच एकले अर्कालाई भित्तामा पुग्ने गरी कटाक्ष शैलीमा भनाभन चलिरहँदा ओली र नेपालपक्षका कार्यकर्ताबीच यस्तो प्रभाव नपर्ने कुरै भएन ।

त्यसैले ठाउँठाउँमा यी दुईपक्षबीच झडपसमेत भएको छ । माधव नेपालपक्षले ओली पक्षलाई राज्य सत्ता र पार्टी सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ ।

पार्टी सत्ताको दुरुपयोग भएको गुनासो आइरहँदा गत मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा एमालेको मुखपत्र बनेको ‘रातो सूर्य’ नामको अनलाइन पत्रिकाले अहिले केपी ओलीको मात्रै भजन गाइरहेको छ ।

एमाले मुख्यालयमा उद्घाटन गरिएको ‘रातो सूर्य’ अनलाइनले महाधिवेशनमा ओलीको समाचार मात्रै प्रकाशित गर्दै आएको छ । केही दिनअघि काठमाण्डुमा ओलीपक्षले गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तव्यमा समेत केन्द्रीय समितिको छाप लगाइएको थियो ।

छाप, मिडिया, र सिंगो कार्यालय ओली पक्षले कव्जा गरेको आरोप नेपाल पक्षको छ । ‘रातो सूर्य’ अनलाइनको डोमेन ओली पक्षधर उपाध्यक्ष एवम् उपप्रधान र गृहमन्त्री बामदेव गौतमको पीएको नाममा नवीकरण भएको छ । रातो सूर्य अनलाइन सञ्चालनका लागि बामदेवका छोरा हरिशले लगानी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us