
काठमाण्डु, ८ असार– प्रहरीले संविधानसभा उपनिर्वाचनका क्रममा काठमाण्डुबाट एकीकृत माओवादीका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
कोटेश्वर निवासी एमाओवादी कार्यकर्ता सुन्दरमान श्रेष्ठलाई प्रहरीले आज बिहान मतदान सुरु हुनै लाग्दा काठमाण्डु–२ को तीनकुने मेरिल्याण्ड स्कुल बुथबाट पक्राउ गरेको हो ।
उनी एमाओवादीबाट सो बुथका बुथ प्रतिनिधिसमेत थिए । बुथप्रतिनिधिको परिचयपत्र लिन गएका बेला श्रेष्ठ पक्राउ परेको एमाओवादी युवा नेता युवराज चौलागाईंले बताए । स्थानीय क्षेत्रमा लोकप्रिय रहेकाले मत परिणाम प्रभावित गर्न सत्ता पक्षले श्रेष्ठलाई पक्राउ गरेको आरोप चौलागाईंले लगाए ।
श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । यसैबीच प्रहरीलाई हिलो छ्यापेको आरोपमा बानेश्वरबाटै शनिबार पक्राउ परेका अर्का एमाओवादी कार्यकर्ता राजु तामाङ रिहा भएका छन् । तामाङले चलाएको मोटरसाइकलले सडक छेउमा उभिएका प्रहरी जवानलाई हिलो छ्यापेको भन्दै प्रहरीले उनलाई पक्रेको थियो ।