प्रतिनिधि चयनमा ओली पक्षले गुण्डागर्दी गर्‍यो: नेपाल

काठमाण्डु टुडे २०७१ असार ८ गते ४:४३ मा प्रकाशित

काठमाण्डु, ८ असार– एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा केपी ओली समूहले मुलुकका विभिन्न स्थानमा बल प्रयोग र madhav nepal 2गुण्डागर्दी गरेको आरोप लगाएको छ ।
नेपालको सचिवालयका तर्फबाट केन्द्रीय सदस्य योगश भट्टराईले विज्ञप्ति जारी गरी ओली पक्षले सुर्खेत, नुवाकोट, सप्तरी, धनुषा, बारा र जुम्लामा बलप्रयोग गरेको आरोप लगाएका हुन् । विज्ञप्तिमा प्रतिनिधि चयनका क्रममा सुर्खेतमा पार्टी संगठित सदस्यहरु चन्द्रबहादुर केसी., निरक ओली, महाधिवेशन प्रतिनिधिका उम्मेदवारद्वय बखत खत्री र पद्मा खड्का, युवा संघ जिल्ला कमिटी सदस्य हिक्मत ओली लगायतमाथि सांघातीक आक्रमण भएको उल्लेख छ ।

सो क्षेत्रमा पार्टी केन्द्रको निर्णयको अवज्ञा गरेर एक पक्षीय रुपमा मतदान भएको दाबी विज्ञप्तिमा गरिएको छ । यस्तै नुवाकोट–२ मा गत संविधानसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्र्तघात गर्नेहरुले आफ्नो हाम्रो विचार समूहका कार्यकर्तामाथि कुटपिट गरेको नेपाल पक्षले बताएको छ । यस्तै डोल्पामा प्रतिनिधि चयनबारेमा छलफल चलिरहेका बेला बैठकस्थलमै आक्रमण गरी केही पार्टी कार्यकर्तालाई घाइते बनाएको नेपालको छ ।

सेती–काठमाण्डु सम्पर्क कमिटीेको प्रतिनिधि निर्वाचनको मतदानस्थलमा पार्टी कार्यकर्ता भीम रावल लगायतमाथि आक्रमण गरी घाइते बनाएको, बारा–२ मा फर्जी मतको प्रयोग गरेर हुलहुज्जत गरिएको, कास्की २ को नगर विकास प्रशिक्षण केन्द्रमा भएको मतदानमा २ जना प्रहरीले नै सिभिल ड्रेसमा मतदान गरेको, सोही केन्द्रमा करिब २ सय पार्टी सदस्यलाई मतदाता नामावलीबाट हटाइएको, सप्तरी, धनुषा र जुम्लामा नक्कली सदस्यलाई समावेश गर्न अनुचित दबाब दिइएको छ, विद्यार्थी विशेषमा हुँदै नभएका फर्जी विद्यार्थीलाई प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालले फरक विचारको सम्मान र लोकतान्त्रिक विधिबाट डराएर ओली समूहले देखाएको अलोकतान्त्रिक क्रियाकलापले आफूलाई दु:ख लागेको बताएका छन् । ‘कतिपय जिल्ला, क्षेत्रमा प्रतिनिधि चयनका क्रममा भएका केही अलोकतान्त्रिक गतिविधिले हामीलाई दु:खित तुल्याएको छ’, नेपालले भनेका छन्, ‘विचारको सम्मान र लोकतान्त्रिक विधिको अभ्यासबाट डराएर पार्टीभित्रकै एउटा समूहले हाम्रो विचार समूहका कमरेडहरुमाथि विभिन्न स्थानमा आक्रमण गर्ने, मतपत्र च्यात्ने, फर्जीमत प्रयोग गर्ने, हुलहुज्जत गर्ने जस्ता कार्य गरेका छन् ।’

नेपालले आफूले पटकपटक डनवाद र धनवादबाट हुन सक्ने गलत कार्यशैलीप्रति खबरदारी गर्दै त्यसका विरुद्ध पार्टीपंक्तिलाई सजग गराउँदै आएको भए पनि पार्टीका उच्छृङखल, अमर्यादित र अलोकतान्त्रिक गतिविधिको नरोकिएको उल्लेख गराएका छन् । उनले ती क्षेत्रमा निर्वाचन प्रक्रिया स्थगित गरी निर्वाचनको अर्को मिति तोक्न पार्टी निर्वाचन आयोग र संगठन विभागसमक्ष माग गरेका छन् ।

त्यस्तो अराजक, अशोभनीय र पार्टीको विधान विपरीत गुण्डागर्दीमा संलग्न हुनेहरुलाई पार्टी विधानअनुसार कारबाहीको दायरामा ल्याउन पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् । नेपालले प्रतिनिधि छनोटले आफूहरुलाई उत्साहित बनाएको र आफ्नो विचारका पक्षमा ७० प्रतिशतभन्दा बढी प्रतिनिधि निर्वाचित भएको दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us