सुत्केरीको मृत्युपछि मणिपालको इमर्जेन्सी बाहेकका सेवा बन्द

काठमाण्डु टुडे २०७१ असार ८ गते ४:०१ मा प्रकाशित

काठमाण्डु, ८ असार –उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालको इमर्जेन्सी बाहेकका सेवा ठप्प भएको छ ।
सुत्केरी सीता गिरीको मृत्यु भएपछि उनका आफन्तले आइतबार विहानदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।
लापरबाहीले शुक्रबार सीताको मृत्यु गएको भन्दै आफन्तले छानबिनको माग गरेपछि अस्पतालले मृत्युको कारण शनिबार सार्वजनिक गर्ने भन्दै आन्तरिक समिति बनाएको थियो । तर समितिले पनि कुनै कारण दिन नसकेपछि मृतकका आफन्त थप आक्रोशित भएका छन् ।
मृतकका आफन्तले शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्दा अस्पतालले बेवास्ता गरेकाले अव कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । पीडित पक्ष र अस्पताल प्रशासनबीच शनिबार दिउँसो भएको बार्तामा सुत्केरीको मृत्युको कारण दिन नसकेको बार्ता संयोजक रमेश गिरीले बताए ।
आन्तरिक रिपोर्टमा अस्पतालको कुनै गल्ती नरहेको अस्पतालका सुपरिटेन्डेन्ट पिके चक्रवर्तीले गरे । चक्रवर्तीले अस्पतालको गल्ती नरहेकाले पीडितहरुले अन्य न्यायका बाटोहरु अपनाउन सक्ने समेत बताए ।
सुत्केरी गराउन अस्पताल भर्ना भएकी पोखरा–१० काजीपोखरीकी सीता गिरीको शुक्रबार बिहान ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us