वैद्यलाई बेवास्ता गरेर जान सकिन्न: प्रचण्ड

काठमाण्डु टुडे २०७१ असार ७ गते १४:२० मा प्रकाशित

काठमाण्डु, ७ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाहिर रहेका दललाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् ।

prachandaअक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रालि र सर्वहारा कोषद्वारा शनिबार राजधानीमा भएको एक कार्यक्रममा प्रचण्डले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित संविधानसभामा नरहेका दललाई समेट्ने काम नभए संविधान नबन्ने बताए ।

‘संविधानसभाबाहिर रहेका दललाई समेत सँगै लिएर जानुपर्ने आवक्यकता छ’, प्रचण्डले भने, ‘ सरकारबाहिर रहेका पाटीलाई संविधान निर्माण प्रक्रियामा सहभागी नगराइए दुर्भाग्य हुन्छ ।’ उनले मोहन वैद्य नेतृत्वको माओवादीलाई जसरी पनि संविधान लेखन प्रक्रियामा सरिक गराइनुपर्ने उल्लेख गरे । उनले प्रक्रियाका नाममा यसअघि भएका ऐतिहासिक सहमतिलाई बेवास्ता गर्न नमिल्ने बताए ।

बाह्रबुादे सहमति, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको जगमा मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तन भएको चर्चा गर्दै उनले प्रक्रियाका नाममा सहमति कुल्चेर संविधान जारी गर्न खोजिए त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी दिए ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनका क्रममा व्यक्त जनभावनालाई आत्मसात् गरी संविधान निर्माण गरिनुपर्ने बताए । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले दोस्रो संविधानसभा निर्वाचनबाट गठित संविधानसभाले जनताले चाहेको संविधान दिन नसक्ने दोहोर्‍याए ।

एमाले नेता सुरेन्द्र पाण्डेले गणतन्त्र, धर्म निरपेक्षता, लोकतन्त्र, सङ्घीयताजस्ता आधारलाई आत्मसात् गर्दै दलहरुबीचको सहमतिमा संविधान जारी गर्नुको विकल्प नरहेको बताए ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठले दलबीच सहमति कायम गरी विगतका सहमति समेतलाई दृष्टिगत गरी राष्ट्रिय राजनीतिलाई सही समाधान दिनु दलहरुको प्रमुख जिम्मेवारी भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us