काठमाण्डु, ७ जेठ– निर्वाचन आयोगले उद्योगमन्त्री कर्णबहादुर थापालाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहरसहित एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
आयोगको शनिबार बसेको बैठकले कैलाली–६ मा मन्त्री थापाले एमालेको प्रचारप्रसार एवम् आमसभामा सहभागी भएर निर्वचन आचारसंहिता उल्लंघन गरेको भन्दै जरिवाना लगाउने निर्णय गरेको हो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको प्रतिवेदनका आधारमा जरिवानाको निर्णय भएको आयोग प्रवक्ता महेश्वर न्यौपानेले जानकारी दिए ।
निर्वाचन आचारसंहिता २०७० को दफा ५९ मा सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिले सरकारी कामका लागि भ्रमण वा निरीक्षणमा जाँदा वा जुनसुकै सरकारी काममा सङ्लग्न रहँदा निर्वाचन प्रचार–प्रसारको काममा संलग्न हुन नपाउने व्यवस्था छ ।