
काठमाण्डु, ७ असार– न्यायाधीश टेकनारायण कुँवरलाई संयुक्त राज्य अमेरिकाको डिपार्टमेण्ट अफ स्टेटले ‘२०१४ हिरो एक्टिङ टू इन्ड मोर्डन सेलभरी अवार्ड’ प्रदान गरेको छ ।
मानव वेचविखन तथा ओसारपसार रोकथाममा न्यायालयको क्षेत्रबाट पुर्याएको योगदानको सम्मान गर्दै कुँवरलाई अमेरिकाको डिपार्टमेण्ट अफ स्टेटले सम्मान गरेको हो । वासिङटन डिसीमा शुक्रबार आयोजित एक कार्यक्रमका अमेरिकी विदेशमन्त्री जोन केरीले कुँवरलाई अवार्ड प्रदान गरे ।
मानव बेचविखन तथा ओसारपोसार रोकथाम ऐनको प्रभावकारी कार्यान्वयनमा अग्रसर रही न्यायप्रणालीमा पीडित केन्द्रित अवधारणा अपनाएको र मानव तस्करीका अभियुक्तलाई कडा जरिवाना दिलाई मानववेचबिखन तथा ओसारपोसारको रोकथाममा गरेको योगदानको कदर गरी सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ । काठमाण्डु निवासी ४९ वर्षीय कुँवर हाल ललितपुर जिल्ला अदालतमा कार्यरत छन् ।
मुगु, बर्दिया, काठमाण्डु र मकवानपुर जिल्ला अदालतको न्यायाधीश भएर काम गरिसेकका कुँवरले मानवबेचबिखन तथा ओसारपोसार सम्बन्धमा परेका विभिन्न मुद्दामा दोषीलाई कडा सजाय सुनाउने र पीडितलाई अधिकतम क्षतिपूर्ति तथा उसको भावी जीवन सुरक्षित गर्न प्रभावकारी ठहरिने निर्णय गरेका थिए ।