
काठमाण्डु, ७ असार– नेपाल भेटेरीनरी एसोसिएसनले आफ्नो र नेपाल पशु चिकित्सा परिषद्को कार्यालय तोडफोड भएकामा आपत्ति जनाएको छ ।
एसोसिएसन अध्यक्ष डा. रामकृष्ण खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनका अध्यक्ष पूर्णबहादुर बुढा नेतृत्वको समूहले कार्यालय तोडफोड गरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले आक्रमणमा संलग्नलाई कारबाहीको मागसमेत गरेका छन् । आक्रमणबाट दुवै कार्यालयका भौतिक संरचनामामा क्षति भएको विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार पशु चिकित्सा परिषद् ऐन २०५५ को संशोधित मस्यौदाबारे कृषि विकास मन्त्रालयका सचिवको अध्यक्षतामा पशु चिकित्सा परिषद्, पशु सेवा विभाग, नेपाल भेटेरिनरी एशोसिएसन र नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनबीचको बैठक सकिएलगत्तै बुढाको समूहले आक्रमण गरेको बताइएको छ ।
‘प्रस्तावित संशोधित मस्यौदा ऐनको बारेमा मन्त्रालयस्तरमा बहस हुँदाहुँदै यसरी एशोसिएसनको भौतिक संरचनामा आक्रमण गर्नु भनेको हतास मानसिकताको उपज रहेको हाम्रो निष्कर्ष रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको अपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीको माग गर्दै यस्ता निन्दनीय कार्यप्रति घोर भत्सर्ना गर्दछौं ।’