
काठमाण्डु, ७ असार– भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले नेपाल हिन्दू राज्य रहनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।
काठमाण्डुमा शनिबार भएको कार्यक्रममा उनले नेपालमा कस्तो शासन प्रणाली हुने भन्ने निर्णय नेपालीले नै गर्ने भन्दै उनले त्यसमा भारतीय हस्तक्षेप नहुने स्पष्ट गरे । नेपाली जनताको इच्छाअनुसार भएको परिवर्तनलाई भारतले पहिल्यै सहज रुपमा स्वीकार गरिसकेको उनले बताए ।
उनले भाजपा सत्तामा आउँदैमा नेपाल नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट गरे । ‘भारतीय जनता पार्टी सत्तामा आउँदैमा नेपाल नीतिमा कुनै परिवर्तन हुँदैन’, उनले भने, ‘नेपालमा कस्तो व्यवस्था चाहिन्य भन्ने विषय नेपाली जनताको हातमा छ ।’
उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को महिना नेपालको औपचारिक भ्रमणमा आउने बताए । मोदीको भ्रमणबाट नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने उनको विश्वास थियो । अर्को एक फरक प्रसंगमा उनले नेपालमा विभिन्न बहानामा धर्म परिवर्तन गर्नु गैरकानुनी भन्दै त्यसलाई तत्काल रोक्न माग गरे ।