
काठमाण्डु, ७ असार– वनमन्त्री महेश आचार्यले सरकारले ल्याएको चुरे संरक्षण कार्यक्रममा अवरोध गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका छन ।
रिपोर्टर्स क्लबमा शनिबार भएको कार्यक्रममा उनले बायोलोजिक कोरिडोरका रुपमा रहेको चुरे क्षेत्रको संरक्षण गर्न सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति गठन गरेको उल्लेख गर्दै अधिक दोहनको कारण संकटमा परेको सो क्षेत्रलाई बातावरण संरक्षण क्षेत्रको रुपमा विकास गर्ने स्पष्ट पारे ।
आचार्यले सामूदायिक वन उपभोक्ता महासंघ लगायतका सरोकारवाला निकायको कामलाई प्रभावित नगरी समन्वय गरेर अघि बढ्ने योजना रहेकाले कोही पनि आक्रोशित हुनुपर्ने आवश्यकता नभएको भन्दै चुरे क्षेत्रको प्राकृतिक सम्पदाको आश्रित जनतालाई नभई विदेश अवैध निकाशीलाई मात्रै रोकेको बताए । । ‘चुरेमा आश्रित जनतालाई नयाा ढंगले व्यवस्थापन गर्ने योजना सरकारको छ । कोही पनि नआत्तिलिएर हुन्छ । सबैसँग मिलेर हामी चुरेको संरक्षण गर्छौं । सेना परिचालन गर्ने भन्ने कुरा हाल्ला मात्रै हो, हामी जनपरिचालनबाटै संरक्षण अभियान अघि बढाउँछौं ।’
भूकम्पीय जोखिम क्षेत्रका रुपमा रहेको चुरेक्षेत्र अत्याधिक दोहनको कारण संकटमा परेकाले तत्काल नभई वर्षौंको अध्ययन र अनुसन्धानपछि सरकारले यस्तो निर्णय लिएको भन्दै यसको विरोध गर्नुको औचित्य नरहेको दाबी उनले गरे ।