सम्बन्ध विच्छेदका मुद्धा बढे

काठमाण्डु टुडे २०७१ असार ७ गते ९:२३ मा प्रकाशित

झापा, ७ असार– झापाको कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) मा सम्बन्ध विच्छेदका लागि नि:शुल्क कानुनी सहायता लिन आउने महिलाको सङ्ख्या अत्यधिक रहेको छ ।
सन् २०१४ को पहिलो छ महिनामा विभिन्न मुद्दाका लागि सहायता लिन ६० जना महिला ल्याकमा पुगेका थिए । जसमध्ये २५ जना सम्बन्ध विच्छेदका लागि आएको ल्याककी झापा संयोजक अधिवक्ता उमा कार्कीले जानकारी दिइन् ।

उनका अनुसार अदालतमा दर्ता भएका मुद्दाहरुमा समेत अंशको माग दाबी गरी सम्बन्ध विच्छेद गराइ पाउँ भन्ने महिलाको सङ्ख्या अन्य मुद्दाको तुलनामा बढी हुने गरेको छ ।
ल्याकले असहाय र विपन्न समुदायका महिलालाई नि:शुल्क कानुनी सहायता प्रदान गर्दै न्यायका लागि अदालतमा मुद्दाको पैरवीसमेत गर्छ ।

अंश चलन, मानाचामल, वकसपत्र बदर, जालसाज, लिखत दर्ता बदर, कुटपिट, जबर्जस्ती करणी, घरेलु हिंसा, नाता कायमलगायतका मुद्दा पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेको अधिवक्ता कार्कीले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us