यार्सा संकलक र व्यापारीको चार करोड लुटियो

काठमाण्डु टुडे २०७१ असार ७ गते ८:५० मा प्रकाशित

डोल्पा, असार ७ – डोल्पामा यार्सागुम्बा व्यापारीको साथबाट गएराति चार करोड रुपैयाँ लुटपाट भएको छ ।
सदरमुकाम दुनैबाट चार दिन पैदल हिंडेपछि पुगिने नाउरे क्षेत्रमा यार्चासहित चार करोड रुपैयाँ लुटपाट भएको हो ।  यार्सा संकलन गरी पालमा बसेकाहरु र यार्सा किन्न पैसा लिएर पुगेका व्यापारी लुटिएका हुन् । लुटेरा समूहले ३ करोड नगद र ५ किलोग्राम यार्सा लुटेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले व्यापारी र यार्सा संकलक सुतेको मौका छोपेर १० १२ जनाको संख्यामा रहेका लुटेराले बन्दुक फायरिङ गर्दै लुटपाट गरेको बताए ।
घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेल नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ । तर प्रहरी पुग्न चार दिन लाग्ने भएकाले लुटेर सजिलै उम्कन सक्ने सम्भावना छ । यसअघि पनि डोल्पामा यार्सा संकलनको सिजनमा लुटपाट हुने गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us