मुनद्वारा कोइरालाको स्वास्थ्य लाभको कामना

काठमाण्डु टुडे २०७१ असार ७ गते ७:४५ मा प्रकाशित

काठमाण्डु, ७ असार– संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य अवस्थाबारे चासो देखाएका छन् ।
pm-moonउपचारका सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री कोइरालालाई शुक्रबार न्यूयोर्कमा भेटेर मुनले स्वास्थ्य अवस्था र उपचारबारे चासो देखाएका हुन् ।

मुनले कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । फोक्सोमा सेतो दाग देखिएपछि चिकित्सकको सल्लाहमा सोमबार थप स्वास्थ्य परीक्षण र उपचारका लागि सोमबार अमेरिका गएका कोइराला न्यूयोर्कमा छन् ।
यस्तै भेटमा महासचिव मुनले नेपालमा जारी संविधान निर्माण प्रक्रिया र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनबारे चासो व्यक्त गरेका थिए । मुनले विश्वसनीय आयोग बनाएर समस्या समाधान गर्न सुझाव दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा मुनले समयमै संविधान जारी गरी राजनीतिक संक्रमणबाट नेपाल छिट्टै मुक्त हुने विश्वास समेत व्यक्त गरेका थिए । महासचिव मुनले शान्ति स्थापनाका लागि राष्ट्र संघले गरेको प्रयासमा नेपालले महत्वपूर्ण योदगान पुर्‍याउँदै आएकामा कोइरालालाई धन्यवाद दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us