
काठमाण्डु, ७ असार – नेकपा एमालेले आफ्नो नवौं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दैछ ।
त्यसका लागि शनिवार देशभरका अधिकांश जिल्लामा निर्वाचन हुन लागेको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए । केही जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मतीवाट भएपनि अधिकांश जिल्लामा सहमति जुट्न नसकेपछि शनिवार चुनावी प्रक्रियामार्फत प्रतिनिधि छनोट गर्न लागिएको हो ।
तर काठमाण्डु–२, कैलाली–६, चितवन–४ र बदिर्या–१ मा आइतवार उपनिर्वाचन हुन लागेका चार जिल्लाको प्रतिनिधि छनोट भने आगामी असार १० गते गरिने एमालेले जनाएको छ । प्रतिनिधि छनोटले चार जिल्लामा हुन लागेको उपनिर्वाचनमा असर पार्न सक्ने भएकाले पनि प्रतिनिधि छनोटको काम असार १० गतेका लागि सारिएको हो ।
यसैगरी विवादमा रहेका जिल्ला जुम्ला, सप्तरी र धनुषामा पनि आगामी १० गते नै प्रतिनिधि छनोटको निर्वाचन हुने छ । आगामी असार १९ गतेदेखि काठमाण्डुमा सुरु हुने एमालेको नवौँ महाधिवेशनका लागि देशभरवाट एक हजार ८ सय प्रतिनिधि चुनिनेछन् ।