घाँटीमा खुकुरी राखेर पाँच लाख लुटियो

काठमाण्डु टुडे २०७१ असार ७ गते २:४५ मा प्रकाशित

काठमाण्डु, ७ असार – सिरुटार गाविस वडा नं २ गाविस भवन नजिकै शुक्रबार राती एकघरमा हतियारसहित पसेको समूहले ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् ।
श्रीमान् विदेशमा रहेका प्रगति थापाको एकतले घरको छतको ढोकाको गजबार काटेर घरभित्र प्रवेश गरेका तीनजनाको समूहले १२ वर्षकी छोरीसंगै सुतेकी थापाको घाँटीमा खुकुरी राखेर धनमाल लुटेका हुन् ।
खुकुरी र पेस्तोलसहित घरभित्र प्रवेश गरेका समूहले साढे ४ तोला सुनका गरगहना, ४५ हजार रुपैयाँ नगद, ल्यापटप १ थान, ट्यावलेट १ थान र मोवाईल २ थान लुटेर लगेको सिरुटार गाविसका पूर्व अध्यक्ष शशीजंग थापाले बताए ।
कालो लुगामा माक्स लगाएर आएका समूहले आधाघण्टाको बिचमा सामान लिएर करिब २ बजे गएपछि थापाले होहल्ला गर्नुभएको थियो । घरमा लुटपाट गरेपछि लुटेराहरु मोटरसाईकलमा भागेका स्थानीयबासिन्दाले बताएका छन् ।
महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीले घटना भएको जानकारी पाएलगत्तै करिव ३ बजे नै प्रहरीले घट्नास्थल पुगेर अनुसन्धान गरेको बताए । थापाले दिएको हुलिया अनुसार चोरी गर्ने समूहको पक्राउ गर्ने टोली खटाई सकिएको र सबै नामाका कडाई गरिएको र अनुसन्धान सुरु भईसकेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us