माओवादीधारका पाँच पार्टीले बनाए एकताका लागि कार्यदल

काठमाण्डु टुडे २०७१ असार ७ गते १०:२८ मा प्रकाशित

काठमाण्डु, ७ असार– एकीकृत माओवादीसहति माओवादी धारका पाँच कम्युनिष्ट पार्टीले कार्यगत एकताका लागि गृहकार्य गर्न संयुक्त कार्यदल गठन गरेका छन् ।

maoist-flag
एकीकृत माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पोरिसडाँडामा शनिबार बसेका पाँच दलका शीर्ष नेताको बैठकले हरेक दलबाट एक एक जना रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरेका छन् ।

कार्यदलमा एमाओवादीबाट महासचिव कृष्णबहादुर महरा, नेकपा–माओवादीबाट सचिव देव गुरुङ, मातृका यादव नेतृत्वको नेकपा (माओवादी) बाट देवशरण यादव, मणि थापा नेतृत्वको क्रान्त्किारी कम्युष्टि पार्टीबाट टिकाविक्रक हमाल र परि थापाले नेतृत्व गरेको नेकपा एकीकृतबाट रामसिंह श्रीष छन् ।

कार्यदललाई आगामी असार १२ गतेसम्म संयुक्त मोर्चाको नाम, कार्यविधि, अधिकार क्षेत्र, आचारसंहिता र नेतृत्वबारे गृहकार्य गरेर प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले काठमाण्डु टुडेलाई बताए ।

उनले १२ गते नै राजधानीमा विशेष कार्यक्रम गरी मोर्चाको औपचरिक घोषणा हुने जानकारी दिए । तत्कालका लागि राजनीतिक एजेण्डाका आधारमा कार्यगत एकता गर्दै भविष्यमा पार्टी एकता गर्न सैद्धान्तिक सहमति जनाएका ती दलले मोर्चाको नाम र नेतृत्वबारे टुंगो लगाउन सकेका छैनन् ।
एकीकृत माओवादीले संयुक्त राजनीतिक मोर्चा र नेकपा–माओवादीले संयुक्त राजनीतिक संघर्ष समिति नाम राख्नत प्रस्ताव गरेका छन् । मोर्चाको नेतृत्व आलोपालो प्रणालीका आधारमा गर्नेबारेमा भने आमसहमति रहेको थापाले बताए ।

वार्तामा एकीकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, नेकपा–माओवादीबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव नेत्रविक्रम चन्द र देव गुरुङसहति सबै दलका प्रमुख नेता सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us