
लमजुङ, ६ असार– लमजुङको कुन्छामा उच्च माध्यमिक विद्यायका शिक्षक मेघनाथ पौडेलले आफ्नै छात्रालाई बलात्कार गरेको पुष्टि भएको छ ।
गणित विषयका शिक्षक पौडेलले ती छात्रामाथि लामो समयदेखि यौन हिंसा गर्दै आएको रहस्य खुलेको हो । पीडित छात्राले आफू पौडेलबाट लगातार यौन हिंसाको शिकार बन्दै आएको बताएपछि उक्त रहस्य बाहिर आएको हो ।
एसएलसी परीक्षा चलिरहेको समयमा सुन्दर बजार खत्री ठाँटीमा पौडेलले गत चैत ९ गते गणित सिकाउने भन्दै कोठामा पसेर बलात्कार गरेको पीडित छात्राको भनाइ छ ।
पीडित परिवारले पौडेलमाथि कारबाहीको माग गर्दै उजुरी दिएको छ । घटना सार्वजनिक भएलगत्तै पौडेल भने फरार छन् । यसैबीच विद्यालय व्यवस्थापन समितिले शिक्षक पौडेललाई निलम्बन गरेको छ ।