अभिव्यक्ति स्वतन्त्रता रोक्ने विधेयकको विरोध

काठमाण्डु टुडे २०७१ असार ६ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, ६ असार – मन्त्रीपरिषदले संसदमा दर्ता गरेको अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकको पत्रकारहरुले विरोध जनाएका छन् ।

press-chautariप्रेस चौतारी नेपालले आयोजना गरेको विरोध कार्यक्रममा पत्रकारहरुले पञ्चायत र राणा शासनको झल्को आउनेगरी मन्त्रीपरिषदले विधेयक बनाएकाले यसलाई तत्काल रोक्न माग राखेका छन् ।

पत्रकार महासंघका कार्याबाहक अध्यक्ष खिलबहादुर भण्डारीले यो विधेयक विरुद्ध सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए । भने, ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी बनाइएको विधान जलाउँछौं ।’ उनले सरकारले अन्तरिम संविधानको भावना विपरित विधेयक बनाउन लागेको बताए ।

महासंघका निवर्तमान अध्यक्ष शिव गाउँलेले लोकतन्त्रको स्थापना गर्न सशक्त भूमिका निर्वाह गरेका पत्रकारहरुमाथि अङ्कुश लगाउनेगरी विधेयक आएको बताए । उनले न्यायलयलाई सशक्त बनाउने नाममा विचार तथा अभिव्यक्ति स्वतन्त्रता खोस्नेगरी विधेयक ल्याउन नहुने बताए । ‘न्यायलयको सम्मान गर्नुपर्छ, तर न्यायलयले गरेका सबै गल्तीमाथि पत्रकारले प्रश्न उठाउँन नपाउँने भन्ने हुँदैन’ उनले भने ।

प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुनेगरी संसदमा दर्ता भएको विधेयक तत्काल फिर्ता गर्न माग गरे । उनले प्रेस स्वतन्त्रतालाई निस्तेज पार्नेगरी ल्याइएको विधेयकको विरोध गर्दै यसले राणा र पञ्चायती शैलीको झझल्को दिइएको बताए ।

उनले पञ्चायती शासनमा जस्तै पर्चा खडा गरी सञ्चारकर्मीहरुमाथि बलात् कार्बाही गर्नेगरी ल्याइएको विधेयकले आम सञ्चारकर्मीहरुलाई त्रसित पारेको बताए ।

कानुनमन्त्रीले अदालत र न्यायपरिषद्का केही पदाधिकारीसँगको मिलेमतोमा अभिव्यक्ति स्वतन्त्रता रोक लगाउँनेगरी संसदमा विधेयक दर्ता गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us