माधव नेपाल भन्छन्, ‘ओली पक्षले दाँत झार्ने धम्की दियो’

काठमाण्डु टुडे २०७१ असार ६ गते १०:४२ मा प्रकाशित

काठमाण्डु, ६ असार– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली समूहले आफू पक्षधर कार्यकर्तालाई देशभर धम्की वा प्रलोभन दिएको आरोप लगाएका छन् ।

madhav kumar nepalराजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी नेपालले नवौं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी ओलीले आफ्नो पक्षमा नआए गाला ताछ्ने, दाँत झार्ने र राजनीतिक भविष्य समाप्त पारिदिनेजस्ता अराजनीतिक धम्की दिएको आरोप लगाए ।

‘आफूले भनेको नटेर्ने कार्यकर्ताको गाला ताछ्ने, दाँत झार्ने र राजनीतिक भविष्य समाप्त पारिदिने धम्की दिइएको छ’, नेपालले भने, ‘हाम्रो पार्टीमा आन्तरिक लोकतन्त्र अशोभनीय भएको छ ।’ नेता नेपालले ओली पक्षले सत्ता र शक्तिको दुरुपयोग गरेका कार्यकर्तालाई पदको प्रलोभन बाँडेको बताए ।

‘राजनीतिक नियुक्तिहरुको लोभ देखाउने, विभिन्न किसिमका प्रलोभन दिने र त्यति गर्दा पनि दबाबमा नपर्ने कार्यकर्तालाई राजनीतिक भविष्य खतरामा पर्ने चेतावनी प्रत्यक्ष अप्रत्यक्ष रुपमा दिनेजस्ता गलत व्यवहारहरु देखापर्न थालेका छन्’, नेपालले भने, ‘यस्तो कार्य नहोस् भन्नेतर्फ म सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।’ पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा राज्यसत्ताको दुरुपयोग हुन नहुने उनको भनाइ थियो ।

नेपालले महाधिवेशन प्रतिनिधिहरुको छनौट स्वच्छ, निष्पक्ष, भ्रम र त्रासमुक्त वातावरणमा हुनुपर्नेमा जोड दिए । आफू नेतृत्व हस्तान्तरणका लागि सकारात्मक रहेको भन्दै उनले २०३६ सालको पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने विचार व्यक्त गरे ।

ओली समूहले महाधिवेशनको अन्तिम समयमा आएर माधव नेपालले उम्मेदवारी फिर्ता गर्छ भन्ने भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै उनले त्यस्तो भ्रममा नपर्न भने । ‘माधव नेपाल अगाडि बढ्यो, खुट्टा कमाउने बानी छैन ।’
उनले पटकपटक कार्यकारी पदमा बसेको भन्ने ओली समूहको आरोपमा सत्यता नरहेको दाबी गरे । पाँचौं र छैटौं महाधिवेशनबाट दोश्रो वरियतामा रहेको, सातौंमा मात्र कार्यकारी पदमा रहेकाले नेतृत्व दोहोर्‍याएको भन्न नमिल्ने उनको तर्क थियो ।

आठौं महाधिवेशनबाट पारित विधानमा विधान पारितको दिनदेखि लागू हुने स्पष्ट उल्लेख गरेकाले आफूले अझै एक कार्यकाm नेतृत्व गर्न कसैले नछेक्ने उनले बताए ।

 पत्रकार सम्मेलनमा बाँडिएकाे नेपालकाे विज्ञप्ति

जनताको बहुदलीय जनवाद जिन्दावाद !

शान्तिपूर्ण जनक्रान्तिका उपलब्धि संस्थागत गरौं, जबजको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

नवौं राष्ट्रिय महाधिवेशन

१९–२४ असार ०७१, काठमाण्डु।

प्रेस वक्तव्य

नेकपा एमालेका हामी सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु यतिबेला नवौं राष्ट्रिय महाधिवेशनको संघारमा उभिएका छौं । महाधिवेशनले राष्ट्र र पार्टीको जीवनमा गहिरो र निर्णायक प्रभाव पार्ने गर्दछ । पार्टीको महाधिवेशनबाट हामी अझ एकताबद्ध र संगठित भएर र सही विचार र सक्षम नेतृत्व चुनेर अघि बढ्न सक्यौं भने त्यसले पार्टीलाई निकै अघि बढाउनेछ र देशलाई नेतृत्व गर्ने अवस्थामा पुर्याउने छ । नेपालको स्वाधिनता र स्वाभिमान तथा जनताको समृद्धिका लागि समेत योगदान पुर्याउने छ । यसर्थ नवौं राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र अत्यन्त सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।

महाधिवेशनलाई सही अर्थमा सफल बनाउन र पार्टीलाई एकताबद्ध बनाउँदै क्रान्तिकारी मार्गमा दृढतापूर्वक अघि बढाउन हामीले नवौं राष्ट्रिय महाधिवेशनलाई सबै दृष्टिकोणबाट सफल बनाउनु पर्दछ । यसका लागि पार्टीका प्रमुख नेताहरुबीच सरसल्लाह, एकता र सहकार्य हुनु आवश्यक छ । तसर्थ गुटस्वार्थ भन्दा राष्ट्रिय हित एवं सम्पूर्ण पार्टीको एकता र हितलाई ध्यान दिन म सबैको ध्यानाकर्षण गर्दछु ।

पार्टी महाधिवेशनमा निर्वाचित भएर आउने प्रतिनिधिहरु पार्टीको सार्वभौम अधिकार प्रयोग गर्ने सदस्यहरु हुन् । पार्टीका संगठित सदस्यहरुको भावना र चाहना बोकेर आएका उनीहरु पार्टीका सम्वाहकहरु हुन् र उनीहरुको निर्णयमा पार्टीको भविष्य निर्धारित हुन्छ । त्यसैले महाधिवेशनका प्रतिनिधिहरुको निर्वाचन अत्यन्त स्वच्छ, निष्पक्ष र सबै प्रकारका भ्रम र त्रासबाट मुक्त वातावरणमा हुनुपर्दछ । प्रत्येक पार्टी सदस्यले कुनै पनि प्रकारको दबाब र हस्तक्षेपको महशुस गर्ने अवस्था हुनु हुँदैन ।

पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनदेखि नै हामीले उन्नत ढंगले लोकतान्त्रिक अभ्यास गर्दै आएका छौं । हाम्रो लोकतान्त्रिक अभ्यास अझ परिमार्जित र समृद्ध हुँदै जानुपर्छ र हाम्रो यस्तो अभ्यासमा राज्यसत्ता र पार्टी सत्ताको हस्तक्षेप तथा दुरुपयोग

हुनुहुँदैन । तर दुःखको कुरो यसपल्ट मैले विभिन्न स्थानका कार्यकर्ताहरुबाट अनेकौं गुनासा सुन्नुपरेको छ । राजनीतिक नियुक्तिहरुको लोभ देखाउने, विभिन्न किसिमका प्रलोभन दिने र त्यति गर्दा पनि दबाबमा नपर्ने कार्यकर्ताहरुलाई राजनीतिक भविष्य खतरामा पर्ने चेतावनी प्रत्यक्ष अप्रत्यक्ष रुपमा दिने जस्ता गलत व्यवहारहरु देखापर्न थालेका छन् । यस्ता तौरतरिकाहरु हाम्रोजस्तो पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यासका लागि अशोभनिय हुन् । यस्तो कार्य नहोस् भन्ने तर्फ म सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु । यसरी ध्यानाकर्षण गर्नु पर्दा मैले असहज महशुस गरिरहेको छु ।

असार ७ गते र १० गते हुने महाधिवेशन प्रतिनिधि निर्वाचनमा सम्पूर्ण संगठित सदस्य कमरेडहरुलाई आफ्नो मत स्वतन्त्र र विवेकपूर्ण ढंगले सक्रियताका साथ प्रयोग गर्न हार्दिक आग्रह गर्दछु । सो निर्वाचन हामी एउटै पार्टीका साथीहरुबीच हुने मित्रतापूर्ण र स्वस्थ प्रतिस्पर्धा हो त्यसैले यस कार्यलाई सहज, निष्पक्ष र लोकतान्त्रिक रुपमा सम्पन्न गर्नु पर्दछ ।

अहिले केही निर्वाचन क्षेत्र र जिल्लाहरुमा निर्विरोध रुपमा प्रतिनिधिहरु निर्वाचित हुनु भएको छ । हालसम्म चयन हुनुभएका सबै प्रतिनिधिहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । यसरी निर्विरोध निर्वाचित प्रतिनिधिहरुमध्ये अत्यधिक बहुमत कमरेडहरुले हाम्रो विचार र नेतृत्वप्रति प्रस्तुत गर्नुभएको समर्थनले मलाई थप उत्साहित बनाएको छ ।

निर्वाचित हुन बाँकी स्थानहरुका सबै संगठित सदस्यहरुलाई कुनै प्रलोभन र दबाबमा नपरी आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गर्दछु । परिवर्तित परिस्थितिमा हामीले अघि सारेका सही विचार नै पार्टीको आधिकारिक विचार बनेको छ । यसमा योगदान गर्ने पार्टीका सबै नेता तथा कार्यकर्ता कमरेडहरुलाई म धन्यवाद ज्ञापन गर्दछु । पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवाद थप समृद्ध र परिष्कृत हुनेछ । महाधिवेशनले विचार, संगठन र नेतृत्वको तादाम्यता कायम गर्नेछ भन्ने मेरो पूर्ण विश्वास छ ।

माधवकुमार नेपाल

बरिष्ठ नेता, नेकपा (एमाले)

मितिः २०७१ असार ६ गते ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us