प्रधानमन्त्रीको जिब्रोको अवस्था सामान्य: प्रवक्ता रिजाल

काठमाण्डु टुडे २०७१ असार ६ गते ९:४७ मा प्रकाशित

काठमाण्डु, ६ असार – प्रधानमन्त्री सुशील कोइरालाको जिब्रोको अवस्था परीक्षणबाट सामान्य देखिएको छ ।

sushil koiralaप्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा बिहीबार जिब्रोको परीक्षण सम्पन्न भएको थियो ।

प्रधानमन्त्रीकोसमेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री वामदेव गौतमले प्रधानमन्त्रीका साथमा रहेका प्रमुख सेनानी प्रकाश देउजासँग शुक्रकार बिहान टेलिफोन सम्पर्क गरी प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिएका थिए ।

प्रमुख सेनानी देउजाले प्रधानमन्त्री कोइरालाको जिब्रोको परीक्षणबाट सामान्य नतिजा देखिएको उपप्रधानमन्त्री गौतमलाई जानकारी दिएको सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बताए ।

फोक्सोमा देखिएको दागबारे आवश्यक परीक्षण गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने प्रमुख सेनानीबाट जानकारी प्राप्त भएको सूचना तथा सञ्चारमन्त्री डा. रिजालले जानकारी दिए ।

प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका सिलसिलामा गत सोमबार अमेरिका प्रस्थान गर्नुभएको थियो । उनले सोही सेन्टरमा केही वर्षअघि जिब्रोको उपचार गराएका थिए ।

मन्त्री डा. रिजालले भने, “प्रधानमन्त्री कोइरालालाई जिब्रोबाटै सङ्क्रमण भई त्यसको असर अन्यत्र परेको थियो कि भन्ने जुन आशङ्का थियो त्यो आशङ्का अब रहेन ।”

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us