भर्नाको नाममा नियम विपरीत शुल्क असुली

काठमाण्डु टुडे २०७१ असार ६ गते ७:५८ मा प्रकाशित

विराटनगर, ६ असार – उच्च माध्यमिक शिक्षा परिषद्को आदेशविपरीत विराटनगरमा निजी स्तरबाट सञ्चालित उच्च माध्यमिक विद्यालयले प्रवेश परीक्षाको नाममा अनधिकृत शुल्क लिने गरेको पाइएको छ ।

शिक्षा परिषद्ले ११ कक्षाको विद्यार्थी भर्नामा आवेदन फारमबापत रु १०० लिनुपर्ने सूचना जारी गरे पनि विद्यालयले रु ५०० शुल्क लिने गरेको गुनासो पाइएको छ ।

यस जिल्लामा करिब तीन दर्जन निजी क्षेत्रका उच्च माध्यमिक विद्यालय रहेको छन् जसमध्ये दुई दर्जन विराटनगरमा सञ्चालित छन् ।

ती विद्यालयले उच्च शिक्षा परिषद्को निर्देशनलाई नटेर्ने गरेको अभिभावक सङ्घ नेपाल पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष देवी पन्थीले बताए ।

विराटनगरमा सञ्चालित लर्डबुद्ध, अरनिको, शिक्षादीप, कञ्चनजङ्घा, देवकोटा, अर्किड, ग्रिनल्यान्ड, एम्सलगायतका उच्च माध्यमिक विद्यालयले विभिन्न बहाना बनाएर तोकिएको भन्दा बढी शुल्क लिने गरेको पाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us