काँग्रेस–एमालेले दम्भ देखाए संविधान नबन्ने : प्रचण्ड

काठमाण्डु टुडे २०७१ असार ६ गते ७:४८ मा प्रकाशित

डडेल्धुरा, ६ असार – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो संविधानसभाबाट पनि संविधान बन्ने निश्चित नभएको बताएका छन् ।

prachand-tika3शुक्रबार बिहान डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सत्ताधारी काँग्रेस–एमालेले ठूलो पार्टीको दम्भ देखाउँदै यथास्थितिवादी संविधान बनाउन खोजे आफूहरुलाई मान्य नहुने प्रष्ट पारे ।

“यथास्थितिवादी संविधान बनाउने कुरामा हाम्रो सहमति हुँदैन,” अध्यक्ष दाहालले भने – “हामी पहिले पनि प्रगतिशील संविधानका पक्षमा थियौँ र अहिले पनि छौं ।”

नयाँ संविधान बनाउन सबैले लचकता अपनाउनु पर्ने खाँचो उनले औंल्याए । उनले एमालेको उदासिनताका कारण २६ सभासद मनोनयन हुन नसकेको आरोपसमेत लगाए ।

राज्य पुनःसंरचनाका सन्दर्भमा बोल्दै अध्यक्ष दाहालले एमाओवादी एकल जातीय राज्यको पक्षमा नरहेको जानकारी दिए । “एकल जातीय राज्यका पक्षमा हामी कहिल्यै छैनौँ,” उनले भने– “हामीले पहिचानसहितको सङ्घीयताको कुरा गरेका हौँ ।”

एमाओवादी सेती–महाकाली राज्य स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष दाहालसहितका माओवादी शीर्षस्थ नेताहरु डडेल्धुरा पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us