धौलागिरिमा दुई दिनदेखि मोबाइल अवरुद्ध

काठमाण्डु टुडे २०७१ असार ६ गते २:५७ मा प्रकाशित

पर्वत, ६ असार –धौलागिरि अञ्चलका चार जिल्लामा दुई दिनदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । पर्वत र स्याङ्जाको सिमानामा पर्ने पञ्चासेमा रहेको रिपिटर टावरमा खराबी आएपछि बिहीबार साँझदेखि पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको हो ।

रिपिटर टावरमा विद्युत् आपूर्तिमा समस्या भएपछि मोबाइल सेवा अवरुद्ध भएको नेपाल टेलिकम पर्वतले जनाएको छ । विद्युती आपूर्ति गर्ने ट्रान्सफर्मर बिग्रेपछि सोलार प्यानलबाट विद्युत् राम्रोसँग आपूर्ति नभएको टेलिकम पर्वतका प्रमुख रामकृष्ण मल्लले बताए ।

घाम लाग्दा छोटो समयका लागि सोलारले काम गर्दा भने मोबाइल सेवा सञ्चालन हुने र तत्कालै जाने गरेको छ । रिपिटर टावरमा विद्युत् आपूर्तिका लागि जेनेरेटरसहित नेपाल टेलिकम पोखरा र पर्वतबाट प्राविधिक टोली पञ्चासेतर्फ गइसकेको टेलिकमले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us