
काठमाण्डु, ६ असार –गुल्मी जिल्लाको अग्लुङ गाविसमा पहिरोले पुरिएर एकै घरका ९ जनाको ज्यान गएको छ ।
वडा नम्बर ८ को निपानेमा बिहीबार राती अचानक गएको पहिरोबाट भविलाल कुँवर सहित उहाँका परिवारका ९ जनाको ज्यान गएको प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।
ज्यान गुमाउनेमा भविलालकी पत्नी चेती, बुहारी सीता, नातिनी बिन्दु, बिपना, हरिकला, नाती चेतमान र बिवाहित छोरी जुठी बिष्ट र नातिनी मिनी विष्ट रहेका छन् ।
राती ११ वजेतिर घरदेखि १ सय मिटर माथिबाट आएको पहिरोले पुरिएर उनीहरुको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा च्यापिएका शबलाई स्थानीय वासिन्दाले शुक्रबार विहान बाहिर निकालेका छन् । पहिरोबाट त्यहाँ अरु ५ वटा घरमा पनि क्षति पुगेको छ ।
सदरमुकामदेखि १२ कोस टाढा भएकोले इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ । जिल्ला सदरमुकामबाट पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीबाट उद्दार टोली घटनास्थलतर्फ गएका छन् । अग्लुङ प्युठानसँग सीमा जोडिएको गुल्मीको सबैभन्दा पश्चिममा पर्ने गाविस हो ।