प्रचण्ड गएको कार्यक्रम बहिस्कार गर्ने नीति छैन: भट्टराई पक्ष

काठमाण्डु टुडे २०७१ असार ५ गते १५:१५ मा प्रकाशित

डडेल्धुरा, ५ असार– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण कार्यक्रम आफूहरुले बहिस्कार नगरेको prachanda-baburamस्पष्ट पारेको छ ।
डडुल्धुरामा बिहीबार भएको पार्टीको सेती–महाकाली राज्य समितिस्तरीय कार्यकर्ता प्रशिक्षणमा भट्टराई पक्षका नेता सहभागी नभएको भन्ने समाचार आएपछि सो पक्षले त्यसको खण्डन गरेको हो ।

भट्टराई पक्षीय केन्द्रीय सदस्य खजराज भट्टले विचार र कार्यदिशामा पार्टीमा बहस भए पनि मुल नेतृत्व सहभागी कार्यक्रम बहिस्कार गर्ने नीति नरहेको काठमाण्डु टुडेलाई बताए । उनले आफू भने अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसकेको र राजधानीमा उपचार गराइरहेको बताए ।

‘पार्टी अध्यक्ष भनेको अध्यक्ष नै हो, उहाँ सहभागी महत्वपूर्ण कार्यक्रम बहिस्कार गर्ने भन्ने कुरै हुँदैन’, भट्टले भने, म उपचारमा रहेका कारण जान सकिन, अरु साथीहरु जायज कारणबिना नगएका रहेछन् भने त्यो ठूलो भुल हुनेछ ।’

उनले नेता भट्टराईले पटकपटक आफूलाई कार्यक्रममा जान भनेको र अस्वस्थ भएकै कारण नगएको बताए । ‘बाबुरामजीले मलाई पटकपटक कार्यक्रममा जान भन्नुभएको थियो’, भट्टले भने, ‘नसकेरै नगएको हुँ, बहिस्कार गर्ने भए अरु राज्यका प्रशिक्षणमा पनि हाम्रो समूह सहभागी हुन थिएन ।’
सेती–महाकालीका ७ जिल्लाका प्रतिनिधि सहभागी कार्यक्रमलाई अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी तथा महासचिव कृष्णबहादुर महरालगायत नेताले प्रशिक्षण दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us