गगन र रवीन्द्रले नपत्याएपछि हिरोहिरोइन जम्मा पारेर भट्टराईले भने, ‘नयाँ शक्ति बनाउन सघाउनुस्’

काठमाण्डु टुडे २०७१ असार ५ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, ५ असार– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणमा सघाउन कलाकारहरुलाई आग्रह गरेका छन् ।
baburamआफ्नो जन्मदिनको अवसरमा बुधबार कलाकार भेला पारेर भट्टराईले नयाँ शक्ति निर्माणमा भूमिका खेल्न भनेका हुन् ।

उनले सानेपास्थित ग्रीनवीच होटलमा दर्जन बढी कलाकार भेला पारेका थिए । भट्टराईले लामो समयदेखि पार्टीभित्र र बाहिर नयाँ शक्तिको बहस चलाउँदै आएका छन् । उनले यसअघि काँग्रेसका गगन थापा, एमालेका रवीन्द्र अधिकारी, बैंकर्स अनिलकेसरी साहलगायतलाई समेटेर नयाँ शक्ति बनाउने बताएका थिए । थापा र अधिकारीले भट्टराईको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए ।

राजनीतिक दलबाट विद्रोह गरेर नयाँ शक्तिमा समाहित हुन कोही इच्छुक नदेखिएपछि भट्टराई कलाकार फकाउन लागि परेका हुन् । भेलामा सहभागी हास्य कलाकार दिपकराज गिरीका अनुसार भट्टराईले राज्य तथा राजनीतिक दललाई घच्घच्याउन छुट्टै शक्ति आवश्यक रहेको बताएका थिए ।

‘नेपालमा हाल क्रियाशिल राजनीतिक दलबाट जनताले केही पाएनन्’, भट्टराईको भनाइ उद्धत गर्दै गिरीले काठमाण्डु टुडेसँग भने, ‘नयाँ शक्तिको आवश्यकता छ, यसमा तपाईंहरुले मलाई सघाउनुपर्‍यो ।’

कलाकारले भने नयाँ शक्तिबारे खासै चासो देखाएनन् । उनीहरुले नयाँ बन्ने संविधानमा चलचित्र क्षेत्र र कलाकारको भावना समेट्ने विषयमा अग्रसार भइदिन भट्टराईलाई आग्रह गरेका थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको भेलामा ‘महजोडी’ अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्यदेखि नायक श्रीकृष्ण श्रेष्ठ, आर्यन सिग्देल, प्रियंका कार्की, सिताराम कट्टेल ‘धुर्मुस’, रंगकर्मी सुनिल पोखरेल, अनुप बराल, चलचित्रर्मी प्रदिप उदय, नकिम उद्धिनलगायत सहभागी थिए ।

भेलाको संयोजक चलचित्र निर्माता अशोक शर्माले गरेका थिए । साँझ ६ बजेदेखि सुरु भएको भेला ९ बजेसम्म चल्यो । भेलापछि भट्टराईले जन्म दिनका अवसरमा कलाकारलाई ‘कक्टेल पाटी’ आयोजना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us