पर्यटन बोर्डको कार्य सुचारु हुने

काठमाण्डु टुडे २०७१ असार ५ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, ५ असार – पर्यटन व्यवसायीको आन्दोलनका कारण विगत ५२ दिनदेखि बन्द रहेको नेपाल पर्यटन बोर्डको कार्य सुचारु हुने भएको छ ।

NTBपर्यटन बोर्डको गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै तत्काल कार्य सुचारु गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएपछि बोर्ड सञ्चालनमा आउने भएको हो ।

त्यसैगरी पर्यटन बोर्डमा भएका अनियमितताको छानवीनको माग राख्दै आन्दोलनरत संयुक्त पर्यटन समन्वय समिति (जेटिसिसी) ले बिहिबार पत्रकार सम्मेलन गरी आफनो पाँच बुँदे माग पुरा भएको भन्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताएको छ ।

आन्दोलनरत पक्षको माग अनुरुप पर्यटन बोर्डको आर्थिक गतिविधिको छानविन तथा संरचनागत सुधारका लागि मंत्रालयले व्यवसायीको प्रतिनिधित्व रहने गरी दुइ वटा छुटटछुटटै समिति गठन गरिसकेको छ ।

जेटिसिसीले व्यवसायीको मागलाई सम्बोधन हुने गरी पर्यटन मन्त्रालयलाई अख्तियारले दिएको निर्देशन उत्साहप्रद रहनुको साथै यसबाट बोर्डको संरचनागत सुधार तथा अनियमितताको छानविनका लागि उचित वातावरण तयार हुने विश्वासका साथ आयोगको निर्देशनलाई कार्यान्वयन गर्नका लागि सहयोग गर्ने जनाएको छ ।

‘बोर्डका कार्यहरुलाई निजी क्षेत्रसँग सहकार्य गरी अझ बढी प्रभावकारी तथा जवाफदेही बनाउन र छानविन समितिको कार्यलाई निष्पक्ष र स्वतन्त्र तवरले अधि बढाउन सहयोग गर्ने पत्रकार सम्मेलनमा बताइयो ।

जेटिसिसीका संयोजक एवम् टानका अध्यक्ष रमेश धमलाले व्यवसायीको मागलाई सम्बोधन गर्नेगरी अख्तियारले दिएको निर्देशन सकारात्मक रहेको र यसले बोर्डको अनियमितता र पुनःसंरचनामा सहयोग पुग्ने विश्वासका साथ पहिलो चरणको आन्दोलन स्थगन गरेको बताए ।

उनले मन्त्रालयद्वारा गठित समितिको भावनाबमोजिम २१ दिनभित्र बोर्डको पुनःसंरचनासम्बन्धी सुझाव पेस गरिने उल्लेख गरे ।

पर्यटन मन्त्रालयले बोर्डको छानविनका लागि सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा सात सदस्यीय र मन्त्रालयकै अर्का सहसचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा १५ सदस्यीय बोर्ड पुनःसंरचनासम्बन्धी सुझाव समिति गठन गरिसकेको छ ।

बोर्डको संरचनागत सुधार, बोर्ड भित्र भइरहेको अनियमितता तथा भ्रष्टाचारको छानविन, बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई पदमुक्त,पदयात्रा मजदुरको अनिवार्य मजदुर कल्याणकारी कोषको स्थापनालगायतका माग राखी पर्यटन व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us