व्यापारी दम्पतीको हत्या अनुसन्धानमा संलग्न प्रहरी उत्कृष्ट

काठमाण्डु टुडे २०७१ असार ५ गते १३:११ मा प्रकाशित

मोरङ, ५ असार – कपडा व्यवसायी बेगवानी दम्पतीको हत्या अनुसन्धानमा संलग्न एक प्रहरी निरीक्षकसहित तीनजना प्रहरी जेठ महिनाका लागि पूर्व क्षेत्रका उत्कृष्ट प्रहरी घोषित भएका छन् । दम्पतीको हत्या सप्तरीको हनुमाननगरमा भएको थियो ।

nepal policeगत जेठ २२ गते सप्तरीको हनुमाननगर ५ बस्ने प्रेम सुख बेगवानी र उनकी श्रीमती सरो वेगवानीको आफ्नै घरमा सुतिरहेका बेला विभत्स हत्या भएको थियो । सो घटनामा संलग्न दुई जनालाई उत्कृष्ट घोषित भएका प्रहरी अधिकारी सहितको टोलीले पक्राउ गर्न सफल भएको थियो ।

पूर्व क्षेत्रिय प्रहरी कार्यालयले बेगवानी दम्पतीको हत्या अनुसन्धानमा सफलतापूर्वक लागेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक किरण गुरङ तथा बेगवानी हत्या घटनामा अनुसन्धानका लागि काजमा खटेर सप्तरी आएका केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी नायव निरीक्षकद्वय श्यामसुन्दर घिमिरे र दुर्गाकुमार योन्जनलाई जेठ महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको पूर्व क्षेत्रिय प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गर्ने गरेको छ ।

पूर्वाञ्चलका प्रहरी नायव उपरीक्षक नवराज सिलवालले गलत काम कारवाही र आचरण भएका कर्मचारीलाई कारवाही मात्र नभई उत्कृष्ट कार्य सम्पादन गर्नेको उत्प्रेरणा र मनोवल बृद्धि गर्न प्रत्येक महिना उत्कृष्ट प्रहरी घोषणा गरि पुरस्कृत गर्ने कार्यको थालनी गरेको बताए ।

क्षेत्रिय प्रहरी कार्यालयले ०७० साल फागुनदेखि प्रत्येक महिना उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दे उत्कृष्ट घोषित हुनेको फोटो कार्यालयको आवरण स्तम्भमा राख्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us