शुल्क वृद्धि नगरे विद्यालय नचल्ने : एन प्याब्सन

काठमाण्डु टुडे २०७१ असार ५ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, ५ असार – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) ले शुल्क वृद्धि नगरे विद्यालय चल्न नसक्ने जनाएको छ ।

पाँचौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कर्णबहादुर शाहीले बजारको स्थितिलाई बुझेर शुल्क वृद्धि गर्नुपर्ने बताए ।

उनले सर्वाेच्च अदालतले हाललाई शुल्कवृद्धि नगर्न गरेको फैसलाबारे आफूहरू केही प्रतिक्रिया नदिने जनाउँदै विद्यालय कसरी चल्छ भन्नेतर्फ सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउने प्रष्ट पारे ।

महाधिवेशनले उच्चशिक्षामा दिइने ४५ प्रतिशत छात्रवृत्तिमा निजी विद्यालयका विद्यार्थीलाई पनि समावेश गर्नुपर्ने, जिल्लास्तरीय शिक्षा समितिमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने, कक्षा ६ र ९ को कक्षा थपको समस्यालाई निराकारण गरिनुपर्ने, निजी विद्यालयलाई सहुलियतमा ऋण दिनुपर्ने, विद्यालय शान्ति क्षेत्रको कार्यान्वयन हुनुपर्नेलगायत प्रस्ताव पारित गरेको महासचिव प्रकाश पाण्डेले जानकारी दिए ।

यस्तै महाधिवेशनले निवर्तमान अध्यक्ष गीता राणाको संयोजकत्वमा सल्लाहकार परिषद् गठन गर्ने व्यवस्था गरेको वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीले जानकारी दिए ।

यही असार १ र २ गते काठमाडौंमा गरिएको महाधिवेशनले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us