हत्या आरोपमा मृत्युदण्ड

काठमाण्डु टुडे २०७१ असार ५ गते ११:३३ मा प्रकाशित

चीन, ५ असार – दक्षिण चीनको गुआङ्गसी जुआङ्ग स्वायत्त क्षेत्रमा रहेको एक अदालतले बिहीबार एक व्यक्तिलाई मृत्युदण्ड सजाय सुनाएको छ ।

उनीमाथि सरकारी अधिकारीको हत्या र आक्रमण गरी घाइते बनाएको आरोप ठहर भएको थियो ।

गत जुलाईमा सेङ्गवो नाम गरेका ती व्यक्तिले परिवार नियोजनमा कार्यरत दुई सरकारी अधिकारीको हत्या गरेका थिए ।

त्यसैगरी उनले गरेको आक्रमणबाट अन्य चार व्यक्ति घाइते भएका थिए ।

चीनको डोङ्गसिङ्ग सहरको जनसङ्ख्या र परिवार नियोजन केन्द्रका कर्मचारीमाथि सेङ्गवोले आफ्नु चौथो सन्तानको नाम दर्ता नगरेको भन्दै आक्रमण गरेको बताइएको छ ।

ती बालकको स्थायी बासिन्दा अनुमति पत्र अर्थात् ‘हुकुउ’ अस्विकृत भएको थियो । परिवार नियोजनको नीतिअनुसार देश बाहिर जन्मिएका ती बालकको केही रकम तिरेर मात्र हुकुउमा नाम दर्ता गर्ने नियम थियो ।

उनले सो रकम तिर्न अस्विकार गरेको र परिवार नियोजन अधिकारीहरूले बालकको नाम ‘हुकुउ’ मा दर्ता गर्न नमिल्ने बताएपछि ती अधिकारीमाथि आक्रमण भएको थियो ।

सेङ्गवो नामक ती व्यक्तिले गरेको आक्रमणमा फाओ र हुआङ्ग नाम दुई परिवार नियोजनका अधिकारीको दुर्घटनास्थलमै मृत्यु भएको र सोही बाटो गइरहेको एक वकिललगायत अन्य चार व्यक्ति घाइते भएका थिए । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us