
काबुल, २ असार – अफगानिस्तानका छ वटा प्रान्तमा आतङ्ककारी र सैनिकबीच भएको झडपमा ६७ जना तालिवान आतङ्ककारीको मृत्यु भएको समाचार छ ।
गत २४ घण्टाभित्र अफगानिस्तानको ६ वटा प्रान्तमा गरिएको सैनिक कारबाहीमा ६७ तालिवानी आतङ्ककारीको मृत्यु हुनुको साथै अन्य ३६ जना घाइते भएको जनाइएको छ ।
सो कारबाहीको क्रममा सात जना पाकिस्तानी आतङ्ककारीसहित ६७ आतङ्ककारीको मृत्यु भएको सैनिक प्रवक्ता मेजर जर्नेल जाहिर आजीमीले आफ्नो ट्वीटर एकाउन्टमा जनाएका छन् ।
कारबाहीको क्रममा सेना भारी मात्रामा हातहतियार कब्जा गरेको बताइएको छ । अफगान सैनिकले जारी राखेको सो कारबाहीको क्रममा तीन सैनिकले पनि ज्यान गुमाउनु परेको छ ।
सैनिक कारबाही जारी नै रहेको बेला आतङ्ककारीहरुले सडककिनारमा राखेको बम विस्फोटमा परी ती सैनिकले ज्यान गुमाउनु परेको बताइएको छ ।
यस बर्षको अन्त्यसम्ममा अफगानिस्तानका नेटोसँग आबद्ध प्रायः सेनाले अफगानिस्तान छोड्ने भएको हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकले नै लिएको छ ।
अफगानिस्तानमा हाल ५१ हजार सैनिक रहेका छन् र ती मध्ये पनि प्रायः यस बर्षको अन्त्यसम्म अफगानिस्तान छोड्ने नेटोसँग आबद्ध सबै देशहरुले यस अघि नै निर्णय गरिसकेका छन् ।
अमेरिकाले भने १० हजार भन्दा कम सैनिक अफगानिनस्तानमा केही समयको लागि बाँकी राख्ने योजना बनाएको बताइएको छ । सिन्ह्वा