
नेताहरुले गम्भीर आत्म समीक्षा गर्नुपर्छ
करिब ६ महिना भयो मैले तपाईहरुसँग यो रुपमा नबोलेको । मेरो कारणले तपाईहरुलाई अप्ठेरो पनि लाग्यो होला । असजिलो परिस्थिति पनि सिर्जना भयो होला त्यसका निम्ति म दु:खी छु । सञ्चार माध्यमलाई अवमूल्यन गर्ने र सञ्चार माध्यमको भूमिकालाई अस्वीकार गर्ने ढंगले मैले कहिल्यै सोच्न सक्दिन । मैले नबोल्नुको कारण त्यो होइन । मैले सञ्चार माध्यममा मात्र होइन यो बीचमा सार्वजनिक रुपमै बोलिन । र पार्टीभित्र पनि राष्ट्रिय सम्मेलन, केन्द्रीय समिति र त्यस्तै निकायको बैठकमा बोल्नै पर्ने ठाउँमा मात्र बोलें, जुन कुरा बोल्नैपर्ने थियो । त्यो बाहेक सामान्यतया म मौन रहें ।
त्यो अवधिलाई मैले सार्वजनिक रुपमा मौन अवधि भनेको छु । वास्तबमा यो मौनता किन हो त भन्ने सन्दर्भमा केही कुरा राख्न चाहन्छु । हाम्रो देशको सुन्दरता, विकास र समृद्धिका निम्ति आवश्यक साधनस्रोतको उपलब्धता र सम्भाव्यताको हिसाबले विश्वमै अत्यन्त कम देशहरुमध्ये पर्छ । तर हामी अत्यन्तै कमजोर, विपन्न, अविकसित र परनिर्भर अवस्थामा छौं । यस्तो स्थिति किन भयो भन्नेबारेमा मेरो अनुभूति केहो भने सबै राजनीतिक पार्टीले विषेशत: राजनीतिक नेतृत्वले गम्भीर आत्मनिरीक्षण र आत्मसमीक्षा गर्न जरुरी छ ।
यस्तै गरेर कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलनका सामु जुन चुनौतीहरु अहिले उपस्थित छन् । त्यसको ठीक ढंगले सामना गर्न पनि गम्भीर चिन्तनको आवश्यकता छ । यो आत्मनिरीक्षण, आत्मसमीक्षा र गम्भीर चिन्तन अगाडि बढाउनका निम्ति मौनताले पनि सहयोग पुर्याउँछ । त्यसैले मौन भएर यसबारेमा गम्भीरतापूर्वक विचार गर्न जरुरी छ भन्ने ठानेर नै मैले केही समय नबोलेको हुँ । म सबै राजनीतिक पार्टीका नेता मित्रहरुलाई पनि यही प्रक्रिया अपनाएर त म भन्दिन तर गम्भीर आत्मनिरीक्षण, आत्मसमीक्षा र चिन्तनको आवश्यकता छ । तबमात्र आफूलाई पनि फेर्दै यो राष्ट्रलाई फेर्न सकिन्छ भन्ने मेरो मान्यता हो ।
मिडिया पनि फेरिनुपर्छ
जहाँसम्म सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी वा सञ्चारमाध्यम हो । उहाँहरुसँग पनि मेरो के भनाइ छ भने राजनीतिक पार्टीको नेतृत्व फेरिनुपर्ने, राज्यका विभिन्न निकायहरु फेरिनुपर्ने तर मिडियाले चाहिं आफ्नो आत्मसमीक्षा नै गर्नु नपर्ने, आत्मनिरीक्षण नै गर्नु नपर्ने मिडियाले आफ्नो भूमिका कसरी निर्वाह गर्ने भन्ने कुरामा सोच्नै नपर्नेजस्तो स्थिति पनि हुनुहुँदैन । मेरो मक्सद के हो भने सञ्चार जगतले पनि गम्भीर आत्मनिरीक्षण गर्न जरुरी छ ।
हामीले ध्यान दिनुपर्ने, हामीले सुसुचित गर्नुपर्ने कुराहरुमा ठीक प्राथमिकताक्रम निर्धारण गर्न सक्यौं कि सकेनौ ? हामीले सत्यतथ्य जनताको बीचमा लैजाने आफ्नो पेशागत धर्म निर्धारण गर्न सक्यौं कि सकेनौं ? हामीले परम्परा निर्वाह गर्ने दिशातिर मात्र गयौं र नेपाली समाजमा जुन विकृति र विसंगति छ त्यसैको पाटापक्षमा मात्र आफूलाई आफूलाई सीमित गर्यौं कि त्यो भन्दा भिन्न रुपमा प्रस्तुत गर्न सक्यौं भन्नेबारेमा सञ्चार जगतले पनि गम्भीर आत्मनिरीक्षण गर्न जरुरी छ भन्ने मैले ठानेको छु ।
सञ्चार जगतसँगको थप कुरा केहो यो मौनताको भने यो रुपमा सञ्चार माध्यमलाई मैले विशेष अपिल गर्नु पनि हो । यो प्रक्रिया पछाडि आजदेखि फेरि मैले जति आवश्यकता छ त्यति बोल्ने भनेर निर्णय पनि गरेको छु । आजदेखि म तपाईहरुसँग फेरि पहिलाजस्तै सम्पर्क, छलफल र अन्तरक्रियामा रहनेछु ।
नेपालका नेतामा रहेका ६ कमजोरी
म तीन/चारवटा कुराहरु तपाईंहरु समक्ष भन्न चाहन्छु । पहिलो कुरा हाम्रो देश अघि मैले चर्चा गरेको स्थितिमा रहनुको पछाडि मुख्यत राजनीतिको र त्यसमा पनि राजनीतिक नेतृत्वमा देखिएका के समस्याहरु हुन् म त्यसलाई अगाडि राख्न चाहन्छु । मैले देखेको ६ वटा मुख्य समस्याहरु रहेका छन् । ती राष्ट्र निर्माणमा बाधक नेपाली राजनीतिका प्रवृत्तिहरु हुन् ।
१. बाह्य शक्तिकेन्द्रमुखी प्रवृत्ति । नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितलाई केन्द्रमा राख्न नसक्ने यो प्रवृत्ति मुख्य बाधक रहेको छ ।
२. नेपालको राष्ट्र निर्माण र समृद्धिको निमित्त आवश्यक दुरदृष्टि र समग्र सोच अर्थात भिजनको पनि नेपालको राजनीतिक नेतृत्वमा अभाव देखिएको छ । केही न केही कमजोरी त्यहाँ देखिएको छ ।
३. चरम सत्ता लोलुपता, ‘पावरग्रिप’को समस्या नेपाली राजनीतिमा देखा परेको अर्को मुख्य समस्या हो ।
४. चरम भ्रष्टाचार । भ्रष्टाचार आर्थिक क्षेत्रको मात्र भ्रष्टाचार होइन । आम अनियमितताको स्थिति छ । त्यसकारणले यसलाई भ्रष्ट आचरण पनि भन्न सकिन्छ ।
५. सिद्धान्त, आदर्श, मूल्यमान्यताको चरम स्खलनको दिशातिर नेपालको राजनीति अगाडि बढिरहेको छ । द्वैधता, स्वार्थकेन्द्रित प्रवृत्तिले जरो गाडेको छ ।
६. सम्पूर्ण क्षेत्रमा आम पार्टीकरण । जे कुराकानी गर्नुपरे पनि पार्टीकरण हुने गरेको छ । हरेक क्षेत्रमा पार्टीकरण छ । राज्यको पार्टीकरण, सरकारका अंगहरुको पार्टीकरण, शिक्षा क्षेत्रमा पार्टीकरण, स्वास्थ्य क्षेत्रमा पार्टीकरण । हर क्षेत्रमा पार्टीकरण र ‘अत्याधिक राजनीतिकरण’ पनि अर्को समस्या रह्यो ।
यी ६ वटा समस्याहरु नेपाली राजनीतिको र मुख्यत राजनीतिक नेतृत्वको समस्या हो । जसले हाम्रो देश अत्यन्तै सम्भावनायुक्त हुँदाहुँदै पनि अहिलेसम्म हामीले यति ठूलो संघर्षबाट प्राप्त गरेका उपब्धिहरुलाई पनि संस्थागत गर्न सकेका छैनौं । अर्कोतिर सामाजिक न्यायसहित समृद्धिको दिशातिर जाने काम पनि गर्न सकेका छैनौं । यो कुरामा हामीले गम्भीर आत्मसमीक्षा गरेर, आत्मनिरीक्षण गरेर साँच्चै आफूलाई फेर्ने र यो देशलाई पनि फेर्ने संकल्प गरेनौं भने हिजो हामीले बाहिरी रुपमा जतिसुकै संघर्ष गरेको भए पनि हामी यथास्थितिवादीमा परिणत हुनेछौं र यो देश प्रगतिको दिशातिर लम्कने छैन ।
नेपाल नवऔपनिवेशिक वृद्धाश्रम बन्ने खतरा
हाम्रो विकासको गति यही मात्रामा रहने हो र हाम्रा दृष्टिगत समस्या यही रुपमा रहने हो भने यो देश केही समयमा नवऔपनिवेशिक वृद्धाश्रमजस्तो हुनेछ । नवऔपनिवेशिक मैले यसमानेमा भनेको हुँ कि नेपालको निर्णय नेपालीहरुले नै नगर्ने/गर्न नसक्ने स्थितिले नवऔपनिवेशिक दिशातिर लगिरहेको छ, त्यो अझ स्थापित हुनेछ । नेपालमा रोजगारी सिर्जना गर्न नसक्ने र प्रतिभाहरुलाई उपयुक्त ढंगले परिचालन गर्न नसक्ने परिस्थिति छ ।
गाउँगाउँ रित्तिने क्रम छ । खाडी मुलुकतिर रोजगारीको निम्ति र विश्वव्यापी रुपमा जाने प्रक्रिया बढेर गएको छ । सहर बजारतिरबाट उच्च मध्यमवर्गका र त्यो भन्दा माथिका पनि शिक्षा आर्जन गर्न र आफ्नो प्रतिभाहरुको सदुपयोग गर्नसमेत विदेश जाने प्रक्रिया बढेर गएको छ, त्यसले हाम्रो देश युवा पंक्ति खाली हुने दिशातिर जानेछ र एक प्रकारको वृद्धाश्रमजस्तो हुनेछ । त्यसैले नवऔपनिवेशिक वृद्धाश्रम हुने दिशातिर गइरहेको देशलाई हामीले बचाउने हो भने तत्काल एउटा सकारात्मक, गुणात्मक हस्तक्षेपको आवश्यकता छ । हामी यो समस्या छ र यो सम्भावना छ भनिरहने तर तत्काल गर्नुपर्ने कुरामा ठोस हस्तक्षेप गर्न नसक्ने, गुणात्मक हस्तक्षेप गर्न नसक्ने हो भने हामीले सहिदहरुलाई धोक दिएको ठहरिने छ ।
नेपाल फेरिन राजनीति फेरिनुपर्छ
नेपालको राजनीति हामीले परिवर्तनका निम्ति भन्दाभन्दै पनि आफ्नो कुर्सी स्वार्थको रक्षाका निम्ति गरिने गन्धा खेलमा अझ नराम्रोसँग डुब्नेछ । त्यसकारण देशको परिवर्तनका निम्ति पहिला राजनीतिकै परिवर्तन गर्न जरुरी छ । राजनीतिलाई सफा गर्न जरुरी छ भन्ने मेरो अर्को मान्यता हो । यो सन्दर्भमा मैले अझै एक/दुईवटा कुरा गर्छु ।
यसका लागि अहिले काम कसरी थाल्ने त भन्ने सन्दर्भमा संविधानको क्षेत्रमा र नीतिको क्षेत्रमा सहमतिद्वारा काम थाल्नुपर्छ भन्ने मान्यतामा म छु । संविधान निर्माणको क्षेत्रमा अहिलसम्म प्राप्त भएका जनताका उपलब्धीहरुलाई संस्थागत गर्न सहमतिको आधारमा अगाढि बढ्नु पर्छ । संविधानसभाभित्र रहेका शक्तिहरुको बीचको एकता र सहमतिका अधारमा कामलाई तीव्र पार्नु र संविधानसभाभित्र नभएका वा संविधानसभा निर्वाचनमै सहभागी नभएका नेकपा–माओवादीजस्ता शक्तिहरुसँग यो प्रक्रियाका बारेमा गम्भीर छलफल गरेर एउटा सहमतिमा पुग्नु आजको आवश्यकता हो ।
नीतिको क्षेत्रमा दुईवटा क्षेत्रमा हामीले राष्ट्रिय सहमति कायम गरौं भन्ने मेरो राजनीतिक पार्टीको नेतृत्व पंक्तिलाई अनुरोध छ । एउटा नेपालको परराष्ट्र सम्बन्ध र परराष्ट्र नीतिको बारेमा आ–आफ्ना ढंगले आ–आफ्ना स्वार्थअनुकुल कुराकानी गर्न छाडौं । क्षण–क्षणमा कसैले के कसैले के भन्ने जो स्थिति छ, त्यसलाई अन्त्य गर्नुपर्छ र यो बारेमा आधारभूत पक्षमा राष्ट्रिय सहमति कायम गरिनुपर्छ ।
दोश्रो कुरा नेपालको विकास र समृद्धिका सन्दर्भमा आधारभूत पक्षहरु के हुन् । अहिले देशलाई चाहिएको के हो त्यो बारेमा पनि हाम्रो न्युनतम सहमति हुन जरुरी छ । यो दुईटा पक्षमा सहमति गरेर मात्रै हामी अगाडि बढ्न सक्छौं । राष्ट्र तीव्र गतिमा विकासको दिशातिर जान्छ । लोकतन्त्रलाई संस्थागत गर्ने काम गर्दै देशलाई समृद्धिको दिशातिर अगाडि बढाउन सकिन्छ नत्र भने सकिन्न । अहिलेको प्रवृत्तिले सकिन्न मेरो अर्को मान्यता हो ।
बजेट नरोकौं
एकदमै तत्कालको हकमा मेरो सबैलाई अपिल के छ भने अहिले बजेट सेसनमा हामी छौं । बजेट समयमै आउनुपर्छ । मेरो भनाइ त के छ भने हरेक वर्ष कुन महिनाको कति गते बजेट वक्तव्य आउने हो भन्ने कुरा निश्चित गरेर जानु उपयुक्त हुन्छ । कुनै पनि प्रकारको वैधानिक सरकारले बजेट ल्याउँदा त्यो दिन बजेट ल्याउने प्रक्रियालाई कुनै कोणबाट अवरोध गरिनुहुन्न भन्ने मेरो मान्यता छ । यो ढंगले अगाडि बढौं भनेर राजीतिक पार्टीहरुको बीचमा मैले प्रस्ताव पनि राखेको छु । अहिले बजेटका सन्दर्भमा सदनमा जुन अवरोधको स्थिति देखा परेको छ ।
त्यसलाई राजनीतिक पार्टी र सम्बन्धित सबै पक्षले गम्भीरता र जिम्मेवारीपूर्वक सोचेर तत्काल समाधान गर्नुपर्छ । यसलाई कुनै पनि हालतमा अब लम्ब्याउनु हुँदैन । छिटोभन्दा छिटो अन्त्य गरिनुपर्छ । तर त्यसमा विशेषत: सरकार र सरकारमा रहेका पार्टीहरुले अत्यन्तै जिम्मेवारीपूर्वक सोचुन, हामी पनि त्यत्तिकै जिम्मेवारीपूर्वक सोचेर एउटा निकासद्वारा यसलाई अन्त्य गर्नुपर्छ भन्ने पक्षमा छौं ।
२६ जना मनोनित नगर्नु दल र सरकारको निर्लज्जता
संविधानसभाको निर्वाचन भएको छ महिना र पहिलो बैठक बसेको चार महिना बितसिक्यो । तर संविधानसले व्यवस्था गरेको २६ जना सभासदहरुको मनोनयन अझै गरिएको छैन । यस सन्दर्भमा सर्वोच्च अदालतले केही समय अगाडि १५ दिनभित्र मनोनित गर्नु भन्ने आदेश पनि जारी गर्यो । तर सरकारले वा राजनीतिक पार्टीहरुको सहमतिमा सरकारले सर्वोच्च अदालतमा अपिल गरेको छ । यो सरकार र राजनीतिक पार्टीको नेतृत्वको अत्यन्तै गैरजिम्मेवार, स्वेच्छाचारी प्रवृत्ति हो र यो निर्लज्जताको पराकाष्ठा हो । अहिलेसम्म त्यति काम पनि गर्न नसक्ने भन्ने कुराले गैरजिम्मेवारीको पराकाष्ठा प्रदर्शन गर्छ । अदालतले यसबारेमा निर्णय गर्न हुन्थ्यो कि हुँदैनथ्यो त्यो छुट्टै विषय हो ।
हरेक मामलामा अदालतले हस्तक्षेप गर्ने प्रवृत्ति जो नेपालमा बढेर गएको छ, त्यो आफ्नो ठाउँमा गलत छ । तर यो त सरकार र राजनीति पार्टीहरुको आफ्नो जिम्मेवारी थियो । यो अहिलेसम्म पूरा नगर्नु र हल्का ढंगले लिनु भनेको जे गरे पनि हुन्छ भन्ने प्रवृत्तिको परिचायक हो । त्यस कारणले यसको म तीव्र शब्दमा भत्र्सना गर्छु । तत्काल २६ जना मनोनित गरियोस् भन्ने माग गर्न चाहन्छु । मैले प्रमुख राजनीतिक पार्टीहरुको बैठकमा पनि भनेको छु कि यसो गर्दा पार्टीहरुलाई भागबण्डा लगाउने होइन । संविधानको प्रावधान, मर्म र भावअनुसारको साझा सूची तयार गरेर त्यसबाट निर्णय गरियोस् ।
यसको अतिरिक्त अहिले तत्कालको निम्ति हामीले संवैधानिक निकायका पदाधिकारीहरु र राजदूतहरुको नियुक्ति गर्ने काममा पनि खेलबाड भइराखेको छ । यहाँ पनि गैरजिम्मेवारी प्रदर्शन भइराखेको छ । भागबण्डाको खेलका कारणले गर्दा अहिलेसम्म राजदूत र संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन । यो सम्बन्धमा पनि छिटोभन्दा छिटो निर्णय गरियोस भन्ने मेरो विशेष अनुरोध छ ।
कुटनीतिक आचारसंहिता उल्लंघनमा नेपाल विश्वमै अगाडि
प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर मैले सरकारमा छँदा अघि बढाएका दुई/तीनवटा कुरालाई गम्भीरतापूर्वक लिन र त्यसलाई व्यवहारमा क्रियान्वयन गर्नको निम्ति अनुरोध गरेको छु । त्यो कुरा पनि म जानकारी गराउन चाहन्छु । नेपाल कुटनीतिक आचारसंहिताको उल्लंघनमा विश्वमै अग्रपंक्तिमा पर्छ । विशेषत: राजनीतिक क्षेत्रले यसलाई अत्यन्तै अवमूल्यन र अपमान गरेको छ ।
मैले परराष्ट्रमन्त्री छँदा राजनीतिक क्षेत्रले पनि कुटनीतिक आचारसंहिता पालना गर्नुपर्ने र त्यसका लागि कुटनीतिक आचारसंहितामै उल्लेख गर्नुपर्ने भनेर क्याबिटेनमा लगेको थिएँ । क्याबिनेटले मुलभूत रुपमा त्यसलाई पारित गरेर विधेयक समितिमा पठाएको थियो । तर हाम्रो सरकार तुरुन्तै गयो र त्यसपछि त्यसलाई फिर्ता लगियो । त्यसलाई अघि बढाउने र क्रियान्वयन गर्ने काम अहिलेसम्म भएको छैन । प्रधानमन्त्रीलाई मैले तत्काल यो अघि बढाइयोस् भनेको छु । तपाईंहरुमार्फत पनि विशेष अनुरोध गर्न चाहन्छु ।
विराटनगरबाट भारतीय क्याम्प हटाउन माग
भारतले अनाधिकृत रुपमा विराटनगरमा ‘फिल्ड अफिस’ खोलेर राखेको छ । त्यसप्रकारले अनाधिकृत रुपमा राखिएका कार्यालयहरु तत्काल बन्द गरिनुपर्छ । मैले यो कुरा उच्चस्तरीय राजनीतिक समिति छँदा त्यहाँ पनि उठाएको थिएँ । उच्चस्तरीय राजनीतिक समितिले पहिला सरकारसँग कुरा गर्ने, होइन भने वक्तव्यसम्म दिने भनेर पनि कुराकानी भएको थियो । तर अहिलेसम्म त्यसबारेमा केही भएको छैन । मेले सरकारमा छँदा तत्कालै बन्द गरियोस् भनेर भारत सरकारलाई पत्राचार गरेको थिएँ । अहिलेसम्म त्यो क्रियान्वयन भएको छैन । सरकारले तत्काल त्यो दिशामा पहल गर्नुपर्छ ।
विदेशी पैसा जथाभावी बाँड्न रोक्नुपर्छ
प्रधानमन्त्रीसँग मैले के भनेको छु भने विभिन्न देशका सरकारहरुले आफ्ना राजदूतावासहरु मार्फत वा गैरसरकारी संस्थाहरुमार्फत नेपालमा तलसम्म नेपालको बजेटको परिधि र प्रक्रियाबाहिर हुने गरी थुप्रै रकम खर्च गर्ने प्रक्रिया चलिराखेको छ । त्यो प्रक्रिया बढ्दो छ । मैले त्यतिखेर परराष्ट्र मन्त्रालय, स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त बैठक गरेर यो प्रक्रिया रोकिनुपर्ने प्रस्ताव तयार पारेर अर्थ मन्त्रालयमा पठाएको थिएँ ।
तर अहिलेसम्म त्यो प्रक्रिया अगाडि बढेको छैन । त्यस कारणले यो प्रक्रिया पनि अगाडि बढाइयोस् । निश्चित रुपमा विदेशी मृत राष्ट्र र अन्तार्रष्ट्रिय संघसंस्थाहरुबाट आर्थिक सहयोग लिनुपर्छ । तर त्यो नेपालको आवश्यकताअनुसार हुनुपर्छ । अर्को त्यो नेपालको बजेटको प्रक्रियाभित्रबाट आउनुपर्छ र कुन योजनामा कहाँ खर्च गर्ने भन्ने कुरा उहाँहरुले निर्णय गर्ने होइन, नेपाल त्यसको प्रमुख निर्णयकर्ता हुनुपर्छ ।
स्खलनको प्रक्रिया नरोकिए एमाओवादीको औचित्य छैन
पार्टीका बारेमा म धेरै कुरा भन्न चाहन्न । हाम्रो पार्टीभित्र के कुरामा गम्भीर रुपमा छलफmल चलिराखेको छ, के कुरामा प्रस्ताव पारित गरिराखेको छ, के कुरा क्रियान्वयन गर्न त्यहाँ संघर्ष भइराखेको छ भन्ने कुरा बाहिर त्यति नबुझिएको जस्तो मलाई लागेको छ । हाम्रो पार्टी अहिले के भन्दैछ भने हाम्रो पार्टी नेपालको क्रान्तिकारी रुपान्तरण गर्ने उद्देश्यका साथ स्थापना भएको, क्रियाशिल भएको र नेतृत्व प्रदान गर्दै आएको पार्टी हो । तर केही समययता राजनीतिको अरु क्षेत्रमा जस्तै हाम्रो पार्टीमा पनि स्खलनको प्रक्रिया, प्रदूषणको प्रक्रिया, क्रान्तिकारी चरित्रमा ह्रासको प्रक्रिया बढेर गएको छ ।
हाम्रो क्रान्तिकारी उद्देश्य, क्रान्तिकारी कार्यदिशा र पार्टी संगठनको आचरणका बीचमा अन्तरविरोध र खाडल देखा पर्दै गएको छ । त्यस कारणले अहिले हामीले पार्टीमा भनेको कुरा के हो भने यो खाडल वा अन्तरविरोधलाई हाम्रो उद्देश्य र हाम्रो पार्टी संगठनको आचरणको बीच, हाम्रो कार्यदिशा र हाम्रो पार्टीको आचरण र कार्यशैलीको बीचमा जे अन्तरविरोध देखा पर्यो । त्यसलाई पुरेर अघि बढ्नको निम्ति पार्टीमा ठूलै रुपान्तरण आन्दोलनको आवश्यकता छ । पार्टीको रुपान्तरण, पुनर्गठन, नयाँ ढंगको पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनको नयाँ शिराबाट नेतृत्व हाम्रो पार्टीको तत्कालिक कार्यभार हुनुपर्छ भनेर पार्टीले औपचारिक रुपमा पारित गरेको छ । तर यसलाई कसरी कार्यान्यवन गर्ने भन्ने बारेमा संघर्ष छ ।
दोश्रो कुरा रुपान्तरण, पुनर्गठन र नयाँ ढंगको पार्टी निर्माणको प्रक्रिया के गर्दाखेरि हुन्छ भन्ने कुरामा पार्टीले लिएको सोचमै पनि जोड र कोणमा केही अन्तरहरु छन् । पार्टीभित्र अहिले त्यसैमा बहस केन्द्रित भइराखेको छ । पार्टीको नेतृत्वमा रहेको हैसियतले मैले राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वाभिमान र नेपालका हितहरुको रक्षाको निमित्त पार्टीले खेल्ने भूमिकालाई दृढतापूर्वक अगाडि बढाउँदै नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको निम्ति पार्टी रुपान्तरण गर्नुको अर्को कुनै विकल्प छैन भन्ने कुरा दृढतापूर्वक उठाएको छु । त्यो कुरा अहिले पार्टीको आधिकारिक लाइनका रुपमा पनि आएको छ । अध्यक्ष कमरेडले नै रुपान्तरण अभियानको नेतृत्व म गर्छु भनेर प्रस्तावहरु पेश गर्नुभएको छ ।
हाम्रो एउटा निश्चित मत के छ भने अर्को एमाले भएर वा नेपाली काँग्रेसजस्तै भएर नै पार्टी चलाउन खोज्ने हो भने यो पार्टीको औचित्य नेपालमा छैन भन्ने हाम्रो निष्कर्ष छ । त्यसकारणले हाम्रो पार्टीको औचित्य र विकासको सम्भावना एउटा अवस्थामा मात्र हुन्छ त्यो हो हामीले पार्टीलाई क्रान्तिकारी पार्टीकै रुपमा सञ्चालन गर्नु । क्रान्तिकारी पार्टीकै रुपमा यसलाई हामीले सञ्चालन गर्न सकेनौं भने यो पार्टीको औचित्य पनि रहँदैन, यसको विकासको सम्भावना पनि रहँदैन । पार्टीले अहिले आफूलाई रुपान्तरणकै दिशातर्फ अगाडि बढाउन प्रयत्न गरिराखेको छ । एक प्रकारले भन्ने हो भने संघर्ष गरिराखेको छ ।
बाबुरामको नयाँ शक्तिबारे
नयाँ शक्तिका बारेमा बाहिर जे चर्चा भयो वा उहाँले पनि पत्रिकामा जे लेख्नुभयो पार्टीमा भन्नु भएको कुरा त्यो होइन । उहाँले नयाँ शक्ति भनेको यही पार्टीलाई रुपान्तरण गर्ने हो भन्नुभएको छ । त्यो त पार्टीको आधिकारिक प्रस्तावमै छ । मैले भन्दै आएको पनि त्यही हो । बुझ्नेले वा बाहिर उहाँले के लेखेर के बुझाउन खोज्नु भयो भन्ने कुरा मैले भन्न सक्दिन । मैले पार्टीमा हामी सबैले अनैतिक कुरा गर्नु हुँदैन भनेको छु ।
अहिले पार्टीमा गुटहरुको आवश्यकता छ, अहिलेको कम्युनिष्ट पार्टी गुटहरुसहित नै हुन्छ भन्ने हो त्यही प्रस्ताव राखौं । त्यही विधि बनाऔं र गुटसहितकै पार्टी चलाऔं । तर हामी सबैले के भन्यौं भने गुटहरु पार्टीका निम्ति विष वृक्ष हो । यसले पार्टीलाई राम्रो गर्दैन । यसले पार्टीलाई समाप्त गर्छ । त्यसैले हामीले गुटहरुलाई निरुत्साहित गरेर अन्त्य गर्ने दिशातिर जानुपर्छ भनेका छौं । त्यो प्रस्ताव पारित गर्ने अनि गुट चलाउने काम चाहिं गर्नुभएन । वैचारिक संघर्षलाई हामीले प्रोत्साहित गर्नुपर्छ र विचार तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति अन्तिमसम्म लड्नुपर्छ ।
वैधानिक रुपले र व्यवहारमा पनि त्यसको व्यवस्था गर्नुपर्छ । विचार संघर्ष नभई पार्टीले गति लिंदैन । तर विचार संघर्ष वा विचार समूहको संघर्ष भनेको गुटहरु होइन भन्ने हाम्रो मान्यता हो । मैले पार्टीका प्रशिक्षणहरुमा गुटलाई परिभाषित पनि गरेको छु । विचार समूह वैचारिक रुपान्तरणका निम्ति संघर्षको औजार हो । गुट भनेको पार्टी सत्ता संघर्षको औजार हो । गुट अपारदर्शी हुन्छ, निहीत स्वार्थ केन्द्रित हुन्छ । त्यसको छुट्टै केन्द्रियता हुन्छ र अलिकति षड्यन्त्रमूलक पनि हुन्छ । ८ बुँले कार्यविधि केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित गरेको हो । त्यही प्रस्तावमा भनिएको छ, यो उल्लंघन भयो भने अनुशासनको विषय बनाइन्छ ।
मेरा धारण केही आधिकारिक र केही व्यक्तिगत
मैले माथि भनेका कतिपय कुरा पार्टीका आधिकारिक धारणहरु हुन् । तत्काल गर्नुपर्ने केही कामहरुमा पनि पार्टीको आधिकारिकता छ । तर नेपालको राजनीतिक नेतृत्वमा के समस्या छ भनेर निकालेको संश्लेषण मेरो हो । के गर्यो भने मात्र यो देशलाई बनाउन सकिन्छ भन्ने कुरा पनि मेरो आफ्नो हो । तर पनि हामीले पार्टीमा छलफल गर्दा यी कुरामा त्यति मतभेद छैन र हुन्छ पनि मलाई लाग्दैन ।
नेपालको राजनीतिक नेतृत्वमाथि प्रश्न उठेका छन् । तर त्यसको अर्थ यो राजनीतिक नेतृत्व पूर्ण रुपले असफल भयो अब त्यसलाई विस्थापित गरेर मात्र राष्ट्रका समस्या हल गर्न सकिन्छ यो मैले भनेको होइन । तर गम्भीर आत्मसमीक्षा र रुपान्तरण आवश्यक छ ।
(६ महिना लामो मौनता तोड्दै श्रेष्ठले हात्तीवनस्थित निवासमा सञ्चारकर्मीसँग गरेको कुराकानीमा आधारित)