
पाँचथर, जेठ २३ –पाँचथरमा ७ महिनादेखि ६ वर्षसम्मका बालबालिकालाई परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने गरेको भेटिएको छ ।
चिकित्सकको लापरबाहीका कारण बालबालिकामा अस्थायी साधन डिपो प्रोभेरा सुई प्रयोग भएको पाइएको हो । स्वास्थ्य सेवा विभागले महिलाहरुका लागि अस्थायी साधानका रुपमा डिपो प्रोभेरा प्रयोग गर्दै आएको छ ।
पाँचथर फिदिम ४– सारन्ताका बालबालिकामा उक्त सुई प्रयोग भएको पाइएको हो । सात महिनाका अरुण श्रेष्ठ, दुई वर्षीया आसिका श्रेष्ठ, पाँच वर्षीय होमकुमार श्रेष्ठ र छ वर्षका निर्मल श्रेष्ठलाई बिहीबार उक्त सुई लगाइएको हो ।
स्थानीयका अनुसार आफू डाक्टर भएको बताउँदै खोप केन्द्रमा बालबालिका जम्मा गराएर सुई लगाएका थिए । उनले आफूले रुघा खोकीको नि:शुल्क उपचार गराएको दाबी गरेका थिए । खोप लगाएपछि शंकास्पद व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले खोप लगाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक सञ्जिवबाबु खड्काले ती व्यक्तिले आफ्नो नाम कृष्ण बर्देवा रहेको र घर तेल्लोक–७ ताप्लेजुङ रहेको बताएको जानकारी दिए ।
उनको साथबाट प्रहरीले भ्याक्सिन केरियर बक्ससहित बिसिजी सुई चार थान, डिपिटी तीन थान, पोलियोको सुई तीन थान, दादुराको सुई चार थान र टिटी सुई दुई थानसहित औषधि फेला पारेको छ ।
बयानका क्रममा उनले पाँचथर अस्पताल बाहिर ती औषधि भेटिएको बताएका छन् । बरामद सामान जिल्ला स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा उपलब्ध गराइँदै आएको छ । प्रहरीले नक्कली डाक्टर बर्देवाविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्ने तयारी गरेको छ ।