विद्यार्थी नभएपछि विद्यालय बन्द

काठमाण्डु टुडे २०७१ जेठ २१ गते ४:४६ मा प्रकाशित

schoolबागलुङ, २१ जेठ – विद्यार्थी नै नभएपछि यहाँको एक प्राथमिक विद्यालय बन्द भएको छ । हरिचौर गाविस–९ सेतीबेसीमा रहेको देउराली प्राथमिक विद्यालय मङ्गलबारदेखि बन्द भएको हो ।

नयाँ शैक्षिकसत्र विसं २०७१ मा भर्ना भएका सात विद्यार्थी छिमेकी विद्यालयमा गएपछि विद्यालय बन्द भएकोे प्रधानाध्यापक विन्दु शर्माले बताए । अत्यन्त न्यून सङ्ख्यामा रहेका विद्यार्थीहरुमध्ये केही पार्वती माध्यमिक विद्यालय र बाँकी निजी विद्यालयमा गएको शर्माले जानकारी दिए । चालु शैक्षिकसत्रमा विद्यालयमा कक्षा १, ४ र ५ मात्र सञ्चालनमा रहेको थियो ।

कक्षा १ मा तीन, कक्षा ४ मा दुई र कक्षा ५ मा दुईजना मात्र विद्यार्थी थिए । विसं २०४० मा स्थापना भएको विद्यालयमा अघिल्लो शैक्षिकसत्रमा जम्मा १२ जना विद्यार्थीले अध्ययन गरेका थिए । विद्यार्थी सङ्ख्या कम भएपछि गत शैक्षिकसत्रमा विद्यालयको एक राहत दरबन्दी समायोजन गरी पृथ्वी उच्च माध्यामिक विद्यालय हरिचौरमा लगिएको थियो ।

विद्यालय बन्द भएपछि अब विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभिने जिल्ला शिक्षा कार्यालय जनाएको छ । “विद्यार्थी नै नभएपछि विद्यालय बन्द हुन पुगेको हो”–जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले भने “अब उक्त विद्यालयको भौतिक संरचना र जनशक्ति नजिकको अर्को विद्यालयमा समायोजन हुन्छ ।”

पछिल्लो समय निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढेपछि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जान थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us