वार्षिक तीन लाख बढीको खोटो निर्यात

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १२:२१ मा प्रकाशित

बागलुङ, १८ जेठ – बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वन क्षेत्रका उपभोक्ताले नियमित आम्दानी गर्न सफल भएका छन् । जिल्लाको बुर्तिवाङ गाविस वडा नं २, ३ र ५ वडाका सामुदायिक वन क्षेत्रमा पाइने सल्लो प्रजातिका रुखबाट निकालेको खोटो निर्यात गरेर उपभोक्ताले राम्रो कमाइ गरेका छन् ।

अलकत्रा, तारपिन तेल, ग्रीज र रङ बनाउन प्रयोग हुने सल्लाको खोटो माग बढेपछि स्थानीयले व्यावसायिकरुपमै खोटोको सङ्कलन तथा बिक्री गर्न थालेका हुन् । बुर्तीवाङको बजेनी, सल्लेरीपानी, माडे र सल्लेरी सामुदायिक वन क्षेत्रमा रहेको सल्लाबाट खोटो निकाल्ने गरिएको माडे सामुदायिक वन उपभोक्ता समितिका सचिव प्रेमलाल पाण्डेले बताए ।

माडे सामुदायिक वनको करिब १२८ क्षेत्रफलमा फैलिएको सल्लाको वनमा सबैभन्दा बढी खोटो सङ्कलन हुने गरेको सचिव पाण्डेले जानकारी दिए ।

खरिद कर्ताले प्रतिकेजी रु १२ का दरले खोटो खरिद गर्ने गरेको उनको भनाइ छ । त्यस क्षेत्रमा सङ्कलन गरिएको खोटो रुपन्देहीमा रहेको माउन्ट रोजिन एन्ड टर्पेनटाइन नामक उद्योगले खरिद गर्ने गरेको छ । “वर्षमा तीनलाख भन्दा बढीको खोटो निर्यात गर्ने गरेका छौँ, खोटो सङ्कलन तथा बिक्रीबाट आउने रकम उपभोक्ताले पाउने गरेका छन्” सचिव पाण्डेले भने, “त्यसै खेर गइरहेको खोटो सङ्कलन गर्न थालेपछि नियमित आम्दानी दिइरहेको छ ।”

खोटो सङ्कलनका लागि आवश्यक सीप तथा प्रविधि भने उद्योगले प्रदान गर्ने गरेको छ । २५ वटा जति रुखबाट १० केजी जति खोटो निकाल्न सकिने सालघारी फेरो सामुदायिक वन उपभोक्ता समितिका सचिव कुलबहादुर खत्रीले बताए ।

रुपन्देही बाहेक कपिलवस्तु जिल्लामा पनि खोटो निर्यात हुने गरेको सचिव खत्रीले जानकारी दिए । वन क्षेत्रमा पाइने स्रोतको उपयोग गरेर उद्यम सञ्चालन गर्ने उपभोक्तालाई सामुदायिक वन उपभोक्ता महासङ्घले आर्थिक तथा प्राविधिक सहयोग पनि प्रदान गर्दै आएको छ ।

खोटो सङ्कलन तथा बिक्रीले स्थानीयको आयआर्जनमा सुधार ल्याएको ठहर गर्दै यसलाई अन्यत्र पनि विस्तार गर्न महासङ्घले सघाउने भएको छ । बजार प्रवद्र्धनसँगै अन्य आर्थिक तथा प्राविधिक सहयोग गर्न महासङ्घ तयार रहेको अध्यक्ष प्रेम लामिछानेले बताए ।
वन उद्यममार्फत आयआर्जन वृद्धि गर्न सहयोगी बन्ने जुनसुकै कार्यक्रमलाई महासङ्घले सक्दो सहयोग गर्ने उनको भनाइ छ । बुर्तिवाङका साथै जिल्लाका अन्य गाविसमा पनि सल्ला प्रजातिको वन क्षेत्र प्रर्याप्त रहेको हुँदा खोटोको व्यावसायिकरण गर्न सकिने जनाइएको छ ।

सजिलै उपभोक्ताले लाभ लिन सकिने भएपछि खोटो सङ्कलनले पनि पछिल्लो समय गति लिन थालेको छ । “बजार माग पनि भएकाले यसको निर्यातमा कुनै समस्या छैन, प्रत्यक्ष रुपमा उपभोक्ताले काम पनि पाएको छ, नगद आर्जन पनि गर्ने गरेको छ”, अध्यक्ष लामिछानेले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us