दोब्बर मूल्यमा खाद्यान्न, दलितहरू भोकभोकै

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १३:२७ मा प्रकाशित

धादिङ, १३ जेठ – उत्तरी धादिङको तिप्लिङ गाविस वडा नं ७ ठूलोगाउँमा खाद्यान्नको मूल्य बजार मूल्यको तुलनामा दोब्बर महँगो छ ।

सदरमुकाम धादिङबेसीमा रु ८५० पर्ने चामल तिप्लिङको ठूलोगाउँ पुग्दा रु दुई हजार २०० सम्म पर्छ । एक प्याकेट आयो नुनको रु ५० देखि रु ६० सम्म तिर्नु पर्छ भने ढिकेनुन एक पाथीको रु २५० सम्म पर्छ ।

यहाँ पत्याउनै नसक्नेगरी महँगी त्यत्तिकै भएको होइन । सदरमुकामबाट करिब ४० किलोमिटरको कच्ची सडक र भारी बोकेर तीन दिनको पैदल दूरी पार गरेपछि पुगिने तिप्लिङ गाउँमा ढुवानी भाडा महँगो भएपछि यहाँको जनजीवन कष्टकर भएको स्थानीय सामाजिक परिचालक चन्द्र तामाङले बताए ।

जिल्लाकै सुदूर उत्तरमा रहेको तिप्लिङ गाविसको लिङ्जो गाउँमा भने अझै खाद्यान्नको अवस्था दयनीय छ । आयो नुन महँगो भएकाले कसैले पनि आयो नुन किन्दैनन् । गाउँका धेरै साहुले मात्र आयोनुन खान्छन् ।

चामलको मूल्य सदरमुकामको तुलनामा दोब्बरभन्दा महँगो पर्ने गर्छ । गाउँमा धान फल्दैन । लेकाली बस्ती भएकाले १० महिनामा मकै पाक्छ । थोरै मात्रामा गहुँ फल्छ । आलु कमैमात्र हुने भएकाले गाउँको उत्पादनले गाउँवासीलाई खान नपुग्ने स्थानीय च्याम्पा तामाङले जानकारी दिए ।

तिप्लिङ गाविस वडा नं १ को कामी गाउँवासीका लागि भने जीवन झनै कष्टकर बन्दै गएको छ । आफ्ना बाबुबाजेदेखि बसोवास गर्दै आएको गाउँमा उनीहरूको जग्गा जमिन छैन । गाउँमा एउटा आरन छ । आरनले १८ घर विकलाई खान नपुगेको र धेरैजसो भोकै बस्ने गरेको कृष्णबहादुर विकले बताए ।

एउटा एनजिओले गाउँको कामी आरनका लागि सहयोग गरेको भन्ने खबर रेडियोबाट मात्र सुनेका विकहरूले सञ्चारकर्मीहरू गाउँ पुग्नेबित्तिकै आफ्नो समस्या सुनाएका थिए । मजदुरी गर्न नपाएका बेला आफू र आफ्ना बच्चा भोकै पर्ने गरेकाले गाउँमा सहयोग गर्न आग्रह गरेका थिए ।

बच्चाहरू सबै कुपोषणले ग्रस्त भएका छन् । आफूहरू थोरै मात्रामा भुटेको गहुँ र खोले खाएर बाँचिरहेको उनीहरूल बताए ।

हीरामायाँ विकले आफ्नी दुई वर्षको छोरीलाई काखमा राखेर दूध खुवाउँदै गर्दा उनले आँखाबाट आँसु झारेर खानेकुरा नभएपछि बच्चाका लागि खुवाउने दूध नआएर बच्चा रोएर बस्ने गरेको बताइन् ।
पाँच सय एक घरधुरी रहेको तिप्लिङमा खाद्यान्नलगायतका विकास निर्माणका लागि ढुवानीको साधनका रूपमा ३० वटा खच्चडले काम गर्ने गरेको सामाजिक परिचालक तामाङको भनाइ छ । चीनको तिब्बतसँग सिमाना जोडिएको एकमात्र गाविसमा २०५६ सालदेखि गाविस सचिव गाउँ नगएको तामाङको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us