
जाजरकोट, ३ जेठ – सरकारले आफ्नो गाउँको सडक निर्माणमा कुनै चासो नदिएको भन्दै जाजरकोटको डाँडागाउँका बासिन्दाले बैंकमा सुन धरौटी राखेर सडक खन्न सुरु गरेका छन् ।
डाँडागाउँका चार वडाका स्थानीय बासिन्दाले गाउँसम्म सडक जोड्न आफ्नै सक्रियतामा पैसा जम्मा गरेर सडक निर्माणको काम सुरु गरेका हुन् ।
छिमेकी गाउँमा मोटरबाटो पुगेको तर आफूहरुलाई भने मोटर चढ्न लामो समय पैदल हिँड्नुपर्ने अवस्था रहेको भन्दै डाडाँगाउँ गाविस वडा नं ६, ७, ८ र ९ का बासिन्दा डाँडागाउँ–४ को छेप्का तिलखीचौरदेखि सोही गाविसको कैनाबजारसम्मको छ किलोमिटर सडक खन्न रु ४० लाख बराबरको सुन र नगद जम्मा गरेका हुन् ।
जिल्ला विकास समिति जाजरकोटको ग्रामीण कृषि सडक विस्तार कार्यक्रमले पनि सडकका लागि रु पाँच लाख बजेट प्रदान गरेको थियो तर त्यसबाट साढे एक किलोमिटरमात्र सडक बनेपछि उनीहरु आफैँ रकम जम्मा गरेर बाटो खन्न लागिपरेका हुन् ।
स्थानीयवासीको सहभागितामा १६ सदस्यीय सडक निर्माण समिति बनाएर उनीहरुले चार वडाका जनताबाट ११ तोला सुन तथा बाँकी रकम समाजका प्रतिष्ठित व्यक्तिहरुबाट उठाएका छन् । गाउँका हुनेखाने घरपरिवारका छ जनाले ११ तोला सुन तथा स्थानीय व्यापारी बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तिहरुले नगदसमेत उठाएर सडक निर्माणको काम सुरु गरिएको ग्रामीण कृषि सडक विस्तार समिति कैनाका सचिव प्रचण्ड वलीले जानकारी दिए ।
उनले रु पाँच लाख खर्चिएर बनाएको सडकको काम अलपत्र नपरोस् भनेर कैनावासीको सक्रियतामा सडक निर्माण थालिएको बताए । स्थानीय शिक्षक गोरखबहादुर पुनको अगुवाइमा समिति गठन गरेर असारभित्र सडक निर्माणको काम सक्ने गरी काम थालिएको बताइएको छ । बैंकमा वार्षिक १६ प्रतिशत ब्याज तिर्ने गरी सुन धरौटी राखिएको वलीले बताए ।