
धनगढी, २९ वैशाख – नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले झन्डै २३ वर्ष पछि गहुँं खरिद गर्न थालेको जनाएको छ ।
गहुँको खरिद मूल्य संशोधन गरी प्रतिक्विन्टल रु दुई हजार ६०० सम्म पु¥याएर खरिद कार्य सुरु गरेको छ । खाद्य संस्थान अञ्चल कार्यालयले यस वर्ष १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ ।
एक हप्ताअघि बसेको जिल्ला प्राथमिक खरिद समितिको बैठकले गहुँको खरिद मूल्य संशोधन गरी टीकापुर क्षेत्रका लागि प्रतिक्विन्टल रु दुई हजार ५५० र धनगढीको मोहनपुर क्षेत्रका लागि रु दुई हजार ६०० पु¥याएको संस्थानले जनाएको छ ।
गहुँको खरिद मूल्य वृद्धि गरिएपछि कैलालीको मोहनपुर र टीकापुरमा सञ्चालनमा रहेको संस्थानको डिपोमा कृषकले गहुँ बिक्री गर्न थालेका छन् ।
यसअघि संस्थानद्वारा बजारको मूल्यभन्दा केही कम मूल्य निर्धारण गरिएपछि संस्थानका डिपोमा यही वैशाख तेस्रो हप्तासम्म गहुँको खरिद बिक्री हुन सकेको थिएन ।
पहिले गहुँको खरिद मूल्य प्रतिक्विन्टल रु दुई हजार ५०० निर्धारण गरेकामा यो मूल्यमा संस्थानका काँटामा गहुँको खरिद बिक्री हुन नसकेपछि वैशाख २३ गते बसेको अर्को बैठकले मूल्य संशोधन गरेको अञ्चल कार्यालयका प्रमुख सुरेन्द्रराज विष्टले बताए ।
नयाँ मूल्य निर्धारण भएको चार पाँच दिनभित्रै संस्थानले टीकापुरमा एक हजार ३५ क्विन्टल र मोहनपुरमा ५०० क्विन्टल गहुँ खरिद भइसकेको बताइएको छ ।
प्राथमिक खरिद समितिले खेती गर्दा लाग्ने लागत खर्च, उत्पादन परिमाण, र स्थानीय बजार मूल्यलाईसमेत आधार बनाइ धान र गहँुंको खरिद मूल्य निर्धारण गर्ने गरेको छ ।
मूल्य संशोधन भई गहुँंको खरिद मूल्य वृद्धि भए पनि संस्थानका डिपोसम्म पहुँचमा पुग्न नसक्ने ग्रामीण क्षेत्रका अधिकांश कृषकले संस्थानले तोकेको गहुँको मूल्य भने पाउन नसकेको अवस्था छ ।
संस्थानका डिपोसम्म पहुँच नपुग्दा ग्रामीण क्षेत्रका कृषकले गहुँं खरिद गर्ने गल्ला व्यापारीसँंग संस्थानले तोकेको मूल्यभन्दा कम मूल्यमा गहुँ बेचेर घर खर्च चलाउनुपर्ने बाध्यता रहेको छ ।
जनशक्ति एवम् साधन स्रोतको समस्याका कारण संस्थानले जिल्लाका सबै क्षेत्रमा खाद्यान्न खरिदका लागि काँटा सञ्चालनमा ल्याउन नसकेको बताइएको छ ।
गत वर्षको वैशाख जेठमा कृषकले प्रतिक्विन्टल गहुँको मूल्य रु एक हजार ९०० देखि रु दुई हजार २०० सम्म पाएका थिए ।
यसैबीच यस वर्ष कैलाली जिल्लामा गहुँ उत्पादन गत वर्षको भन्दा १२ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाको झन्डै ३४ हजार ५०० हेक्टर क्षेत्रफलको जग्गामा गहुँखेती हुने गरेकामा १२ प्रतिशत उत्पादन वृद्धि हुँदा झन्डै ६० हजार मेट्रिक टन गहुँ उत्पादन भएको बताइएको छ ।
यस वर्ष जिल्लाको मुनुवा, भजनी, जोशीपुर, लालबोझी, खैलाड, हसुलिया, बौनियालगायतका क्षेत्रमा गहुँ उत्पादन राम्रो भएको छ ।