
काठमाण्डु, २६ वैशाख– गृहमन्त्री बामदेव गौतमले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने आलोचनामा कुनै तुक नरहेको बताएका छन् ।
एमाले उपाध्यक्षसमेत रहेका गौतमले पार्टी सम्बद्ध युवा किसान संघले मुख्यालय बल्खुमा शुक्रबार गरेको कार्यक्रममा आलोचनामा समय खर्चनुको साटो सरकारका कामकारबाहीमा सहयोगीको भूमिका खेल्न आग्रह गरे ।
एक वर्षभित्र संविधान जारी गर्ने र शान्ति प्रक्रियाका अधुरा काम निष्कर्षमा पुर्याउने उद्देश्यमा सरकार अडिग रहेको भन्दै उनले आलोचनासँग नडराउने बताए । ‘सरकार आलोचनासँग डराउँदैन, गौतमले भने, ‘शान्ति र संविधानको उद्देश्यमा दृढ भएर लाग्छ ।’
उनले सरकारले आफ्नै रफ्तारमा काम गरिरहेको भए पनि सरकारको गति सुस्त भएको भन्ने गलत प्रचार भइरहेको दाबी गरे । वर्तमान सरकार गठन भएलदेखि नै एउटा पक्षले बाधा अवरोध सिर्जना गरिरहेको भन्दै उनले त्यस्तो प्रवृत्ति आफैं पराजित भएर जाने ठोकुवा गरे ।
अर्को एक फरक प्रसंगमा उनले एमालेको नवौं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन नहुने बरु अनुभवी नेताका हातमा नेतृत्व जाने बताए ।