
काठमाण्डु, २६ वैशाख– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले आफूले बाबुराम भट्टराईको नेतृत्वमा तत्काल अर्को पार्टी गठन गर्ने अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।
काठमाण्डु टुडेसँग कुरा गर्दै उनले आफूले पार्टी फुटाएर अर्को पार्टी बनाउने आशयको अभिव्यक्ति नदिएको बताए । रिपोर्टर्स क्लबमा बिहीबार उनले नयाँ पार्टी गठनको गृहकार्य भइरहको बताएका थिए ।
आफ्नो भनाइको पार्टीभित्र चर्को आलोचना भएपछि उनले सञ्चारकर्मीलाई एसएमएस पठाएर पार्टी फुटाउन लागेको भन्ने अभिव्यक्ति आफूले नदिएको र सञ्चारमाध्यमले बंग्याएर समाचार सम्प्रेषण गरेको प्रष्टीकरण दिएका हुन् ।
‘मैले एकीकृत माओवादलीलाई विधि र विचारमा विकास गरेर पूराना गल्ती र कमजोरी सच्याउँदै तत्कालका लागि केन्द्रीय समितिबाहिर बसेर पार्टीभित्रै याँ ढंगको पार्टी निर्माणका लागि संघर्ष गर्ने भनेको हुँ’, रायमाझीले भने, ‘मेरो भनाइको आशय बंग्याएर केही मिडियाले पार्टी फुटाउन लागेको भनेछन्, त्यो होइन ।’