नयाँ पार्टी छिट्टै: रायमाझी

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते १२:४६ मा प्रकाशित

काठमाण्डु,२५ वैशाख – एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले नयाँ विचारसहितको नयाँ पार्टी छिट्टै बनने बताएका छन् ।
top bahadur finalरिपोर्टर्स क्लबको साक्षात्कारमा उनले बाबुराम भट्टराईको नेतृत्वमा आफूहरु नयाँ पार्टी निर्माणका लागि सक्रिय रहेको बताए । पूराना नेता, पूरानो विचार संगठन, कार्यक्रम र योजनाले नयाा पार्टी निर्माण हुन नसक्ने भएकाले नयाँ पार्टी निर्माणको महाभियान थालिएको उनको भनाइ थियो ।

उनले नयाँ पार्टी बनाउने विषयमा सबै शक्तिसँग छलफल भइरहेको समेत खुलासा गरे । ‘देशको आवश्यकताअनुसार नयाँ पार्टी छिट्टै बन्छ,’ रायमाझीले भने, ‘नयाँ पार्टी रुपान्तरणसहितको नयाँ सिद्धान्त, विचार, संगठन, अनुहार, कार्यक्रम र योजनासहितको हुनेछ ।’

परिवर्तनको आवश्यकता भइरहने भन्दै देशले चाहे अनुरुपको रुपान्तरण एनेकपामाओवादीको विराटनगर सम्मेलनले गर्न नसकेकाले आफूहरु विकल्पमा जान बाध्य भएको स्पष्ट पारे ।

नयाँ शक्ति निर्माणका लागि आफू स्वयं विभिन्न दलका नेता, समाजका वौद्धिक र नेतृत्वदायी क्षेत्रमा रहेकाहरुसँग छलफलमा सक्रिय रहेको खुलासा समेत गरे । पार्टी  संस्थापनपक्षप्रति कडा रुपमा प्रस्तुत भएका रायमाझीले विचार मिलेसम्म सँगै रहने नमिलेपछि अलग हुने परिपाठी सामान्य र स्वाभाविक भएको तर्क गरे । उनले आफूहरुले माओवाद छाड्नेबारे बहस अगाडि सारेको समेत बताए ।

नयाँ पार्टीमा कम्युनिष्ट नाम हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने,‘नामभन्दा काम मुख्य हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us