काठमाण्डु, २१ वैशाख– नेपाल पत्रकार महासंघको राजधानीमा जारी २४ औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।
निर्वाचनमा डा. महेन्द्र विष्ट र पोषण केसीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । विष्ट र केही समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विष्ट र केसी दुवैले यसअघि महासंघको महासचिव भएर काम गरिसकेका छन् ।
विष्टलाई प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघ तथा केसीलाई प्रेस युनियनको समर्थन छ । यस्तै उपाध्यक्षमा विष्ट समूहबाट खिलबहादुर भण्डारी, महासचिवमा उजीर मगर, सचिवमा प्रभात चलाउने उम्मेदवार छन् ।
केसी समूहबाट उपाध्यक्षमा रामजी दाहाल, महासचिवमा जगत नेपालले उममेदवारी दिँदैछन् । निर्वाचन समितिका अनुसार बिहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
१ बजेसम्म उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्ताको समय तोकिएको र साँढे १ बजेबाट मतदान प्रक्रिया सुरु हुने बताइएको छ । मतदान सकिएलगत्तै आजै साँझबाट मतगणना सुरु गरिने छ । निर्वाचनबाट ९ पदाधिकारीसहित ४३ सदस्यीय समिति चयन हुनेछ ।
महासंघ अधिवेशनको प्रधानमन्त्री सुशील कोइरालाले हिजो उदघाटन गरेका थिए । यसअघि हिजोको बन्दशत्रले समावेशी विधानका साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।