
काठमाण्डु, २१ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारहरुका लागि आयोजना गरेको चियापान कार्यक्रम रद्ध गरेका छन् ।
पत्रकार सम्वद्ध विभिन्न चार संगठनले बहिस्कार गर्ने बताएपछि कोइरालाले बिहान गर्ने भनिएको चियापान रद्ध गरेका हुन् ।
‘एउटा पक्षको बहिस्कार हुँदाहुँदै चियापान गर्नु राम्रो होइन भनेर रद्ध गर्नुभयो’, प्रेस युनियनतर्फबाट पत्रकार महासंघका महासचिवाका उम्मेदवार जगत नेपालले काठमाण्डु टुडेसँग भने ।
राज्य शक्तिको दुरुपयोग गर्दै निर्वाचन प्रभावित पार्ने उद्देश्यका साथ चियापान आयोजना गरिएको भन्दै प्रेस चोतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघले बहिस्कार गरेका हुन् ।
महासंघको राजधानीमा जारी २४ औं महाधिवेशनमा ती चार संगठनले गठबन्धन गरेका छन् । प्रधानमन्त्री कोइरालाले शनिबार महासंघको अधिवेशन उदघाटन गर्दै वामपन्थी विचार बोक्ने चार संगठनले निर्वाचनमा गठबन्धन गरेकामा आपत्ति जनाएका थिए ।