पत्रकारद्वारा प्रधानमन्त्रीको चियापान बहिस्कार

काठमाण्डु टुडे २०७१ वैशाख २० गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– पत्रकार सम्वद्ध विभिन्न चार संगठनले प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गरेको चियापान बहिस्कार गर्ने भएका छन् ।

sushil koiralaकाठमाण्डु, २० वैशाख– पत्रकार सम्वद्ध विभिन्न चार संगठनले प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गरेको चियापान बहिस्कार गर्ने भएका छन् ।
सत्ताको दुरुपयोग गर्दै निर्वाचन प्रभावित पार्ने उद्देश्यका साथ चियापान आयोजना गरिएको भन्दै ती संगठनले बहिस्कार गर्ने भएका हुन् । प्रधानमन्त्रीको चियापान बहिस्कार गर्नेमा प्रेस चोतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघ छन् ।

प्रधानमन्त्री कोइरालाले आइतबार बिहान नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा सहभागी हुन आएका पत्रकारका लागि सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

शनिबार महासंघको अधिवेशन उदघाटन गर्दै उनले वामपन्थी विचार बोक्ने ती चार संगठनले निर्वाचनमा गठबन्धन निर्माण गरेकामा आपत्ति जनाएका थिए ।

क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले प्रधानमन्त्रीको चियापानमा आफूहरु नजाने बताए । आचार्यले अधिवशेन उदघाटनका बेला आफूहरुको गठबन्धनविरुद्ध अभिव्यक्ति दिएका प्रधानमन्त्रीले उम्मेदवारी मनोनयनको एक घण्टाअघि चियापान राख्नुले आशंका बढेको बताए ।

‘उदघाटन शत्रमा हाम्रो गठबन्धनविरुद्ध बोलेका प्रधानमन्त्रीले उम्मेदवारी गर्दा गर्नुभन्दा एक/डेढ घण्टाअघि चियापान आयोजना गरेका कारण हामीलाई आशंका भएको छ’, आचार्यले काठमाण्डु टुडेसँग भने, ‘हाम्रा पूर्वनिर्धारित कार्यक्रमहरु पनि छन्, प्रधानमन्त्रीको चियापानमा जाँदैनौं ।’
प्रधानमन्त्रीले राज्य कोषको दुरुपयोग गरेर चियापान गरेकामा भने उनले आपत्ति जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us