सुजाताले पौडेलमाथि लगाइन पार्टी फुटाउन लागेको आरोप

काठमाण्डु टुडे २०७१ वैशाख २० गते १३:११ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– काँग्रेस उपसभापति रामचन्द्र पौडेलमाथि पार्टी विभाजन गराउने षड्यन्त्रमा सक्रिय भएको आरोप लागेको छ ।
Ramchandra-Paudelप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकमा नेतृ सुजाता कोइरालाले पौडेल पार्टी फुटाउन लागेको आरोप लगाएकी हुन् । मेची–महाकाली अभियानमार्फत केन्द्रको विवाद गाउँसम्म पुर्‍याएर फौडेलले पार्टी फुटाउन खोजेको उनको आरोप थियो ।

‘मेची–काली अभियानको नाममा रामचन्द्र पौडेलजीले पार्टी केन्द्रको विवाद गाउँसम्म पुर्‍याउनुभएको छ’, कोइरालाले भनिन्, ‘यो पार्टी फुटाउने षड्यन्त्र हो ।’ पार्टीको नीति तथा प्रशिक्षण विभाग प्रमुख पौडेलले देशव्यापी अभियान चलाएकामा सभापति सुशील काइरालासमेत रुष्ट थिए ।

संसदीय दलको नेता चयनपछि कार्यबाहक सभापति दिने पूर्वसहमति पालना नगरेको भन्दै पौडेल कोइरालासँग चिढिएका छन् । आफ्नो छुट्टै गुट नभएका कारण आफूलाई हेपिएको निष्कर्षसहित पौडेल गुट निर्माणमा जुटेका छन् ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य र सभासदले सरकारको काम प्रभावकारी नभएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए । वर्तमान सरकार काँग्रेस नेतृत्वको हो वा होइन भन्ने प्रश्न उनीहरुको थियो । बैठकमा सुजाता कोइराला, बालकृष्ण खाँड, रामहरि खतिवडा, जीवन शाही, अमरेशकुमार सिंहलगायतले सरकारले सिंहदरबारमा फोटो टाँसनेबाहेक केही नगरेको बताए ।

जवाफमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले गठबन्धन सरकार भएकाले कारबारबाही सुस्त भएको बताए । उनले एमाले सहित साना दलसँगको गठबन्धनमा सरकार चलाउनुपरेका कारण कामकारबाही प्रभावकारी नभएको भन्दै आफ्नो बाध्यता बुझिदिन आग्रह गरे ।

वरिष्ठ नेता शेरबहादुर देउवाले संसदको विशेष अधिवेशन सकिएकाले निर्वाचनका बेला मतदातासमक्ष गरेको बाचा पूरा गर्ने बेला आएकाले गाउँ जान सभासदलाई निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us